काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्मको तथ्याङ्कअनुसार निर्जीवन बीमा कम्पनी र लघु निर्जीवन बीमा कम्पनीहरूले कुल २८ अर्ब २७ करोड ४६ लाख ५२ हजार रुपैयाँ बराबरको कुल बीमाशुल्क संकलन गरेका छन् ।
माघ मसान्तसम्मको ७ महिनाको अवधिमा सञ्चालित कम्पनीहरूले कुल १९ लाख २९ हजार ८८ वटा बीमालेख जारी गर्दै उक्त व्यवसाय गरेका हुन् ।
प्राधिकरणको तथ्याङ्क अनुसार मुख्य १४ वटा निर्जीवन बीमा कम्पनीहरूले मात्रै २७ अर्ब ५३ करोड ८४ लाख १४ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा यी कम्पनीहरूले १६ लाख ५६ हजार ३३६ वटा बीमालेख जारी गरेका छन् ।
यस्तै, ४ लघु निर्जीवन बीमा कम्पनीहरूले २ लाख ७२ हजार ७५२ वटा बीमालेख जारी गरेर ७३ करोड ६२ लाख ३७ हजार रुपैयाँ बराबरको व्यवसाय गरेका छन् ।

शिखर इन्स्योरेन्सको वर्चस्व, सगरमाथा लुम्बिनी दोस्रो
निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूमध्ये शिखर इन्स्योरेन्स व्यवसायका आधारमा सबैभन्दा अगाडि देखिएको छ । शिखरले माघ मसान्तसम्ममा ३ अर्ब ३२ करोड ४ लाख ८२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यो कम्पनीले ७ महिनाको अवधिमा १ लाख ८२ हजार ८२३ वटा बीमालेख जारी गरेको छ ।
व्यवसायका आधारमा दोस्रो स्थानमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । जसले २ अर्ब ९८ करोड १६ लाख २४ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्स ले २ अर्ब ८३ करोड ९३ लाख ४३ हजार रुपैयाँको व्यवसाय गर्दै तेस्रो स्थान सुरक्षित गरेको छ ।
तथ्याङ्कअनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब ५१ करोड ४९ लाख ९३ हजार, नेको इन्स्योरेन्सले २ अर्ब १४ करोड १५ लाख ६७ हजार र एनएलजी इन्स्योरेन्सले २ अर्ब १८ करोड ८३ लाख ९३ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।
त्यसैगरी आइजीआई प्रुडेन्सियलले २ अर्ब ३८ करोड ६ लाख ४१ हजार र युनाइटेड अजोडले १ अर्ब ७५ करोड ३३ लाख १६ हजार रुपैयाँको व्यवसाय गरेका छन् । पुराना कम्पनीहरू मध्ये दि ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ६८ करोड ७५ लाख १९ हजार र नेपाल इन्स्योरेन्सले १ अर्ब ३४ करोड ४१ लाख ७९ हजार रुपैयाँ संकलन गरेका छन् ।
तुलनात्मक रूपमा कम व्यवसाय गर्ने कम्पनीहरूमा राष्ट्रिय बीमा कम्पनी र नेसनल इन्स्योरेन्स देखिएका छन् । राष्ट्रिय बीमा कम्पनीले ८९ करोड २४ लाख ६ हजार रुपैयाँ संकलन गर्दा नेसनलले ७९ करोड ९६ लाख ६५ हजार रुपैयाँ बराबरको कुल बीमाशुल्क संकलन गरेको छ ।

लुमा प्रोटेक्टिभ माइक्रो अगाडि
लघु बीमातर्फ कुल ४ वटा कम्पनी सञ्चालनमा छन् । जसमध्ये प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले सबैभन्दा बढी २० करोड १२ लाख ५२ हजार रुपैयाँको व्यवसाय गरेको छ ।
त्यसपछि नेपाल माइक्रोले १९ करोड २८ लाख ३ हजार, स्टार माइक्रोले १८ करोड २८ लाख ४३ हजार र ट्रस्ट माइक्रोले १७ करोड ९३ लाख ३९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
समग्रमा, निर्जीवन बीमा बजारमा शिखर इन्स्योरेन्सको नेतृत्व कायम रहँदा लघु बीमा कम्पनीहरूले पनि बजार विस्तार गरिरहेका छन् । बीमाङ्क रकमका आधारमा यो ७ महिनामा कुल १४ खर्ब ३३ अर्ब ४७ अर्ब ४३ लाख ३५ हजार रुपैयाँ बराबरको दायित्व वहन भएको प्राधिकरणको विवरणमा उल्लेख छ ।
अर्थ चाैतारी ।