काठमाण्डौ । सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले मूल्य मान्यतामा नचल्ने र आर्थिक पादर्शितामा नरहने सहकारी संस्थालाई बाध्ने बाध्यकारी नीति ल्याउने उद्घोष गरेका छन् । आइतबार राजधानीमा नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को १२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै रजिष्ट्रार पण्डितले आर्थिक पारदर्शीतामा संस्थाहरु चुकेकाले नै अहिलेको समस्या आएको बताए ।
यसतर्फ अहिले विभागले सुष्म अध्ययन गरिरहेको र सहकारीको आर्थिक सुशासन र गतिशिलताका लागि आफुले कडा कदम चाल्ने तयारी गरिरहेको बताए । ‘सहकारी संस्थाहरु पनि पादर्शी हुनुपर्छ । हरेक गतिविधि सबैले थाहा पाउनुपर्छ भन्ने हामीले देखेका छौं’ रजिष्ट्रार पण्डितले भने, ‘यसैले पहिलो चरणमा हामीले केन्द्रीय संघतर्फ नजर लगायौं । मिति तोकेर नै अनिवार्य वित्तीय रिपोर्ट सार्वजनिक गर्न भन्यौं । यसो गरे अन्य प्रारम्भिक संस्थाहरु पनि लाइनमा आउछन् भन्ने हो । अब यो प्रारम्भिक संस्थाहरुमा पनि लागू हुन्छ, हामी कार्यान्वयन गर्ने चरणमा जाँदैछौं’ रजिष्ट्रार पण्डितले भने ।
उनले अहिलेको विषम परिस्थितिलाई मनन् गरेर नै विभागले सहकारी संस्थाहरुलाई दबाब नदिएको समेत उल्लेख गरे । ‘तरलता अभावका कारण अहिले धेरै सहकारी संस्थाहरु समस्यामा छन् । यहिबेला थप उनीहरुमाथि दबाब दिए के होला ? यहि मनन् गरेर विभागले नरम नीति लिएको हो । तर, अब विभागले त्यसै छाड्दैन, वातावरण सहज हुने वित्तिकै एक्सनमा उत्रिन्छौं’ पण्डितले भने ।
यस्तै, राष्ट्रिय सहकारी महासंघका सञ्चालक समेत रहेका सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले सहकारी क्षेत्रको शुद्धिकरण सँगसँगै वृद्धि विकासका लागि अभियन्ता, नियामक र सञ्चारकर्मीहरु सँगसँगै जानुपर्ने बताए । आइतबार नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले आफ्नो १२ औं स्थापना दिवस मनाएको छ । सो अवसरमा आयोजित विशेष कार्यक्रममा संस्थाले कान्तिपुर टेलिभिजनका पत्रकार सुदिल पोखरेललाई ‘सिजेएन राष्ट्रिय पत्रकारिता पुरस्कार २०७९’ ले सम्मान गरेको छ भने संस्थापक तर्फबाट निवर्तमान अध्यक्ष खिलानाथ दाहाललाई सम्मान गरेको छ । पोखरेलले नगद रु.२० हजार रुपैयाँसहित सम्मानपत्र प्राप्त गरेका छन् ।
अर्थ चाैतारी ।