logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • अर्थतन्त्रको रूपान्तरणका लागि बजेटमा पाँच रणनीति : यस्तो छ सुधारको नयाँ मार्गचित्र

    अर्थतन्त्रको रूपान्तरणका लागि बजेटमा पाँच रणनीति : यस्तो छ सुधारको नयाँ मार्गचित्र

    65
    SHARES
    अर्थतन्त्रको रूपान्तरणका लागि बजेटमा पाँच रणनीति : यस्तो छ सुधारको नयाँ मार्गचित्र

    काठमाण्डौ । अर्थ मन्त्रालयले अर्थतन्त्रको रूपान्तरणका लागि भन्दै आगामी आर्थिक वर्षको बजेट निर्माणमा पाँचवटा मुख्य रणनीति अघि सारेको छ । मंगलबार बसेको अर्थ समितिको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले कार्ययोजना प्रस्तुत गर्दै अबको बजेट परम्परागत वितरणमुखी प्रणालीबाट बाहिर निस्केर नतिजामुखी र संरचनागत सुधारमा केन्द्रित हुने बताए ।



    यो नयाँ मार्गचित्र मुख्यतया सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीले अघि सारेको वाचा पत्र र आर्थिक एजेन्डाहरूमा आधारित रहेको उनको भनाइ छ ।

    पाँच रणनीति
    १. सुशासनको लाभांश
    सरकारको पहिलो प्राथमिकता सुशासनमा केन्द्रित रहेको छ । नेपाली जनताले लामो समयदेखि कुशासनको ठुलो मूल्य चुकाउनु परेको यथार्थलाई स्वीकार गर्दै अब सुशासनको फाइदा (लाभांश) जनताले प्रत्यक्ष महसुस गर्ने गरी काम गरिने वाग्लेले बताए । बजेटले सरकारी सेवा प्रवाहमा हुने झन्झट अन्त्य गर्ने, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने र पद्धति बसाल्ने कामलाई प्राथमिकता दिने उनले बताए । सुशासन केवल नारामा मात्र नभई जनताको दैनिक जीवनमा देखिने गरी कार्यान्वयन गरिने सरकारको योजना छ ।

    २. अर्थतन्त्रको पुनर्संरचना र डिजिटल इकोनोमी
    नेपालको अर्थतन्त्र लामो समयदेखि रेमिटेन्समा मात्र टिकेको भन्दै यसको संरचना नै बदल्नुपर्ने आवश्यकता औँल्याइएको छ । अबको बजेटले रेमिटेन्समा आधारित उपभोगलाई घटाएर उत्पादन र सेवा क्षेत्रमा जोड दिनेछ । विशेष गरी ’डिजिटल इकोनोमी’ लाई ठुलो प्राथमिकता दिइएको छ । सूचना प्रविधि र डिजिटलाइजेसन सँगसँगै गाँसिएर आएका नयाँ सम्भावनाहरूलाई सदुपयोग गर्दै अर्थतन्त्रलाई आधुनिक बनाउने सरकारको संकल्प छ ।

    ३. सन्निकटता र एकीकृत पूर्वाधार
    पूर्वाधार विकासमा सन्निकटताको नयाँ अवधारणा अघि सारिएको छ । यस अन्तर्गत सडक, ऊर्जा, हवाई सुरक्षा र डिजिटल ग्रिडहरूको नेटवर्कलाई एकीकृत रूपमा विकास गरिनेछ । सहरी विकास, ऊर्जा, खानेपानी र सिँचाइ जस्ता ठुला पुँजी लाग्ने क्षेत्रमा सरकारले एकीकृत ढङ्गले लगानी गर्नेछ ।

    पूर्वाधार विकासमा सरकारले मात्र लगानी नगरी निजी क्षेत्रको पुँजीलाई पनि आकर्षित गर्ने वातावरण बनाइनेछ । सडक निर्माणमा अब ऋण र अनुदान मात्र नभई हाइब्रिड एन्युटी मोडल जस्ता आधुनिक वित्तीय उपकरणहरू प्रयोग गरिने वाग्लेले बताए ।

    ४. सर्वव्यापी सामाजिक उन्नयन र मध्यम वर्गको विस्तार
    शिक्षा, स्वास्थ्य, पोषण र वित्तीय पहुँचलाई सरकारले ’सामाजिक लगानी’ को रूपमा व्याख्या गरेको छ । विगतमा यी क्षेत्रमा गरिएको ठुलो लगानीको प्रतिफल बालुवामा पानी हाले जस्तो भएको भन्दै अब यसलाई नतिजामुखी बनाइनेछ । मध्यम वर्गको संख्या विस्तार गर्ने र उनीहरूको जीवनस्तर स्थिर बनाउने सरकारको लक्ष्य छ । एकीकृत सामाजिक सुरक्षा कार्यक्रम मार्फत न्यून आय भएका नागरिकलाई माथि उठाउने योजना बजेटको प्राथमिकतामा रहेको वाग्लेले बताए ।

    ५. सौम्य शक्तिको विस्तार
    नेपालको पर्यटन, संस्कृति र अन्तर्राष्ट्रिय सम्बन्धलाई मजबुत बनाएर सौम्य शक्तिको विस्तार गरिने वाग्लेले बताए । परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा परिणत गर्दै वैदेशिक लगानी भित्र्याउन जोड दिइने उनले बताए । विशेष गरी विदेशमा रहेका प्रवासी नेपाली (डायास्पोरा) लाई देशको विकास अभियानमा सम्मानका साथ मूल प्रवाहीकरण गर्ने योजना सरकारको छ । डायास्पोराको स्रोत र ज्ञानलाई परिचालन गर्न संवैधानिक र कानुनी अड्चनहरू फुकाइने वाग्लेले बताए ।

    यस्तै अर्थमन्त्रीले राजस्व चुहावट र तस्करी नियन्त्रणमा सरकार निर्मम हुने चेतावनी दिएका छन् । सीमा क्षेत्रमा व्यावसायिक रूपमा भइरहेको अवैध तस्करीले स्वदेशी उद्योगहरूलाई क्षति पु¥याइरहेको भन्दै उनले यसलाई कडाइका साथ नियन्त्रण गरिने बताए ।


    अर्थ चाैतारी
  • विहिबार, ३१ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट