काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगत तर्फका उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठले सोमबार आफ्नो समूहको घोषणा गर्ने भएका छन् । यसअघि नै वस्तुगत तर्फको उपाध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका श्रेष्ठले सोमबार समूह सहितको उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।
श्रेष्ठको समूहबाट विदूर धमला, भक्त हमाल, दुर्गा सुवेदी, पशुपतिदेव पाण्डे र सागर ढकाल केन्द्रीय कार्यकारिणी समिति सदस्यको उम्मेदवार छन् । यसैगरी, विप्लव अधिकारी, प्रल्हाद दाहाल, सुबोध कुमार गुप्ता, लिलेन्द्र प्रधान र राजेन्द्र सांग्रौला पनि उनको टिमबाट केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्दैछन् ।
‘अरु साथीहरु पनि हुनुहुन्छ, १६ जनाको टिम सोमबार घोषणा हुँदैछ’ श्रेष्ठ समूहबाट केन्द्रीय सदस्यको उम्मेदवार बन्न लागेका एक जनाले भने, ‘सबै व्यवसाय र पेशालाई समेटेर टिम बनाएका छौँ । पर्यटन, कृषि, औषधि, रियलस्टेट, सेयर ब्रोकर, इन्धन सबै क्षेत्रबाट हाम्रो समूहमा प्रतिनिधित्व छ ।’
वस्तुगत उपाध्यक्षमा श्रेष्ठसँग शिवप्रसाद घिमिरेले प्रतिस्पर्धा गर्दैछन् । घिमिरेले पनि आफ्नो समूहको औपचारिक घोषणा गरिसकेका छन् ।
अर्थ चाैतारी ।