काठमाण्डौ । सरकारले सामाजिक सुरक्षा कोषमा आबद्ध नहुने कम्पनीको नवीकरण नगर्ने व्यवस्था गर्न लागेको छ । सामाजिक सुरक्षा कोषलाई थप व्यवस्थित बनाउने भन्दै सरकारले यस्तो व्यवस्था गर्न लागेको हो ।
बुधबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहले सञ्चारकर्मीहरूसँगको छलफलमा यस्तो बताएका हुन् । उनले सामाजिक सुरक्षा कोषमा आबद्ध नहुने कम्पनी नवीकरण नगर्ने गरी आवश्यक प्रक्रिया अपनाउने तयारी रहेको बताए ।
उनले भने, ‘सामाजिक सुरक्षा कोषमा आबद्ध अनिवार्य बनाउने सरकारको योजना छ । त्यसको लागि ऐन संशोधन गर्नु पर्ने सुझाव आएको छ । उक्त सुझावका आधारमा ऐन संशोधन गरेर कार्यान्वयन गर्ने योजना रहेको छ ।’
विगतमा पनि सरकारले सामाजिक सुरक्षा कोषलाई अनिवार्य आवद्ध हुनु पर्ने भन्दै आए पनि त्यस्तो हुन सकेको थिएनन् । उनले हाल ७ लाखको हाराहारीमा रहेको सामाजिक सुरक्षा कोष मा आबद्ध श्रमिकको संख्या २२ लाख पुर्याउने लक्ष्य राखिएको बताए । यसका लागि आवश्यक ऐन संशोधन गरी प्रक्रिया सहज बनाइने मन्त्री साहले जानकारी दिए ।
वैदेशिक रोजगारीसँग सम्बन्धित ४० देखि ५० हजार पुराना गुनासोहरूलाई सम्बोधन गर्न एक एकीकृत डिजिटल र पारदर्शी प्रणाली विकास गरिने उनले बताए ।
अर्थ चाैतारी ।