काठमाण्डौ । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गरी आफ्नो कार्यभार सम्हालेका छन् ।
बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै पण्डितले आजै आफ्नो कार्यकक्षमा पदबहाली गरेका हुन् । नेपाल सरकारको २०८२ चैत २४ गतेको निर्णयअनुसार पण्डित डेपुटी गभर्नरमा नियुक्त भएका हुन् ।
शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले नवनियुक्त डेपुटी गभर्नर पण्डितलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे । डेपुटी गभर्नर पण्डितसँग राष्ट्र बैंकमा दुई दशक लामो कार्यअनुभव छ । उनले २०६२ माघ २ गते सहायक निर्देशकको रूपमा बैंक सेवामा प्रवेश गरेका थिए ।
आफ्नो व्यावसायिक दक्षताका कारण उनी २०६८ सालमा उपनिर्देशक, २०७४ सालमा निर्देशक हुँदै २०८१ फागुन १ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए ।
कार्यकारी निर्देशकको जिम्मेवारीमा रहँदा उनले भुक्तानी प्रणाली विभाग र विदेशी विनिमय व्यवस्थापन विभाग जस्ता महत्त्वपूर्ण विभागहरूको नेतृत्व गरेका थिए ।
साथै, उनले बैंकको केन्द्रीय प्रवक्ताको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् ।
अर्थ चाैतारी ।