काठमाडौं । नेपालको निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) यतिबेला गम्भीर संकटबाट गुज्रिरहेको छ । ‘सदस्यता विवाद’को भुमरीमा फसेर महासंघ साधारणसभा र नयाँ कार्यसमिति निर्वाचन गर्न असफल भएको छ ।
महासंघ विवाद र अदालती झमेलाका कारण चैत २९ र ३० गतेका लागि तय भएको महासंघको साधारणसभा सरेको छ । पदाधिकारीले साधारणसभा बैशाख २१ र २२ गते गर्ने गरी प्रस्ताव गरेका छन्।
साधारणसभा हुन नसक्नुको मुख्य कारण हो, अदालतको आदेश । १९ वटा वस्तुगत संघहरूलाई सदस्यता दिने कार्यसमितिको निर्णय र त्यसमध्ये १८ वटाका सदस्यता ‘अवैधानिक’ भन्दै अदालतले गरिदिएको खारेजीले महासंघभित्रको आन्तरिक कलहलाई सहतमा ल्यायो । गत पुस १६ गते पाटन उच्च अदालतले उनीहरूको सदस्यता खारेज गरी महासंघलाई ‘तथ्य र कारण खोली १५ दिनभित्र पुनः निर्णय गर्न’ आदेश दिएको थियो ।
पछि अदालत भनेअनुसार महासंघले सदस्यता नदिएको भन्दै १९ मध्ये १८ सदस्य पाटन उच्च अदालत पुगेका थिए । पुस १६ को परमादेशअनुसार निर्णय नगरी महासंघको साधारण सभा हुँदा निवेदकहरूलाई समेत असर पर्ने देखिँदा सो निर्णय नभएसम्म संस्थाको साधारणसभा नगर्न नगराउन पाटनले चैत २६ गते अन्तरिम आदेश जारी गरेको थियो ।
त्यसपछि चैत २८ गते शनिबार कार्यसमितिले सदस्यतबारे टुंगो लगाएर २९ र ३० गते नै साधारणसभा गर्ने तयारी गरिएको थियो । तर, महासंघको आन्तरिक विवादले चरम रूप लिँदा साधारणसभा नै सार्नुपर्ने स्थिति बन्यो ।
महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाको संयोजकत्वमा २०८१ फागुन २३ गतेको सदस्यता बैठकले १९ मध्ये एउटा संघलाई मात्र वस्तुगत सदस्यता दिने सिफारिस गरेको थियो । समितिले ‘फोरम हेल्थ एण्ड टेक्निकल साइन्स’ मात्र सदस्य बन्न योग्य रहेको निर्णय गरेको थियो ।
तर, फागुन २६ गते महासंघको केन्द्रीय कार्यसमितिले निवेदन दिएका सबैलाई वस्तुगत सदस्यता प्रदान गर्ने निर्णय गरेको थियो । त्यसपछि महासंघ, महासंघका अध्यक्ष चन्द्र ढकाल, कार्यकारिणी समिति र सदस्यता समिति समेतलाई विपक्षी बनाएर नेपाल पोल एसोसिएसनका अध्यक्ष किशोर प्रधानले उच्च अदालत पाटमा रिट दायर गरेका थिए । २०८१ साल चैत ११ गते दायर रिटमा अदालतले चैत १२ गते नै कारण देखाउ आदेश जारी गरेर दवै पक्षलाई छलफलमा बोलाएको थियो । त्यसप पेशी १६ पटक सर्यो । गत पुस १६ गते भने पाटनले १८ वटा संघहरुको वस्तुगत सदस्यता खारेज गरिदिएको थियो ।
साथै, सदस्यता प्राप्त गरेको विपक्षी संघसंस्थाको हकमा आदेश प्राप्त भएको मितिले पन्ध्रदिन भित्र पुनः निर्णय गर्नु गराउनु भनी विपक्षी मध्येका उद्योग वाणिज्य महासंघको नाममा परमादेश जारी गरेको थियो ।
तर, सदस्यता समितिले पुनः निर्णय गरेन । चैत अन्तिममा हुने साधारणसभामा आफू सहभागी नै हुन नपाएको भन्दै १८ संघ पुनः अदालत जाँदा निर्णय गराएरमात्र साधारणसभा गर्न उच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो ।
पदाधिकारी बैठकले बैशाख २१ र २२ गते साधारणसभा गर्ने प्रस्ताव गर्यो ।
यसैबीच बैशाख ७ गते सोमबार बसेको सदस्यता समितिले पुनः १८ सदस्यलाई सदस्यता दिन नमिल्ने निर्णय गरेको छ । महासंघको विधानअनुसार सदस्यता समितिले दिनु भनेर सिफारिस गरे कार्यकारिणी समितिले दिने वा नदिने निर्णय गर्न सक्छ । तर, सदस्यता समितिले नै दिन नमिल्ने भनेर सिफारिस गरे कार्यकारिणी समितिले सदस्यता दिन मिल्दैन ।
यसअघि सदस्यता समितिले सदस्यता नदिन सिफारिस गरे तापनि कार्यकारिणी समितिले सदस्यता दिएपछि महासंघ विवादमा आएको हो । अहिले सदस्यता समितिले पुनः सदस्यता नदिन सिफारिस गरेपछि बुधबार बस्ने कार्यसमिति कस्तो निर्णय गर्नेछ भन्नेमा महासंघको भविष्य तय हुनेछ । भोलि नै पदाधिकारी बैठकको सिफारिसअनुसार बैशाख २१ र २२ गतेको साधारणसभा आयोजना हुने वा नहुने निर्णय हुनेछ ।
आखिर गोल्छा नेतृत्वको समितिले ती १८ संघलाई सदस्यता दिन किन उपयुक्त ठानेन ? के ती संघहरूले विधानले तोकेको न्यूनतम मापदण्ड पूरा गरेका थिएनन् वा एउटै प्रकृतिका धेरै संस्थाहरूलाई प्रवेश गराउँदा महासंघको साख गिर्ने डर थियो ?
सोमबार बसेको सदस्यता समितिले ती सदस्यलाई किन सदस्यता दिन सकिँदैन भन्ने ३ महले विवरण नै तयार पारेको छ ।
कसलाई किन गरिएन सिफारिस ? महासंघको विधानको कुन दफाअनुसार अयोग्य ?
१. एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल, ललितपुर
दफा ११.५: एउटै वर्गभित्रका संघलाई सदस्यता दिइसकेपछि सोही वर्गलाई समेट्ने अर्को संघलाई सदस्यता नदिइने । ‘एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज’ सँग कार्यक्षेत्र जुधेको ।
२. नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, काठमाडौं
दफा ११.५: महासंघका सदस्यहरू ‘ढुवानी व्यवसायी महासंघ’ र ‘नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन’ सँग यसको वर्ग/कार्यक्षेत्र जुधेको ।
३. नेपाल यार्सागुम्बा संघ
दफा ११.२ र ११.३: संस्था दर्ता भएको ३ वर्ष पूरा नभएको । सदस्यहरू असम्बन्धित व्यवसाय (कुचो, अदुवा, छुर्पी) का रहेका र यार्सागुम्बा बाहेक अन्य कारोबार गर्ने सदस्य बढी देखिएको ।
४. एएसी ब्रिक उत्पादक संघ
दफा ११.३ र ११.५: विधान बमोजिम न्यूनतम ७५ सदस्य हुनुपर्नेमा जम्मा ९ जना मात्र रहेको । साथै ‘नेपाल इट्टा उद्योग महासंघ’ को वर्गसँग जुधेको ।
५. नेपाल कागज उत्पादक संघ
दफा ११.३ र ११.५: दर्ता भएको ३ वर्ष नपुगेको । ‘नेपाल हाते कागज संघ’ र ‘नेपाल पल्प एण्ड पेपर उत्पादक संघ’ को वर्गसँग कार्यक्षेत्र जुधेको ।
६. ऊर्जा उत्पादक संगठन नेपाल
दफा ११.५: ‘नेपाल सौर्य विद्युत उत्पादक संघ’ र ‘नेपाल विद्युतीय उत्पादक संघ’ को वर्गसँग जुधेको । साथै सदस्यता खारेजीका लागि पत्र समेत प्राप्त भएको ।
७. नेपाल किवी उत्पादक तथा व्यवसायी संघ
दफा ११.२ र ११.३: दर्ता भएको ३ वर्ष नपुगेको । न्यूनतम ७५ सदस्य हुनुपर्नेमा धेरै सदस्यहरू असम्बन्धित (सुन्तला, मौरी, तरकारी) व्यवसायका रहेका ।
८. नेपाल बेसार संघ
दफा ११.२ र ११.३: दर्ता भएको ३ वर्ष नपुगेको । सदस्यहरू बेसार व्यवसाय भन्दा फरक (काठ, गाईभैंसी पालन, प्लास्टिक, कृषि औजार) व्यवसायका बढी रहेको ।
९. नेपाल कोदो तथा फापर संघ
दफा ११.२ र ११.३: दर्ता भएको ३ वर्ष नपुगेको । सदस्यहरू असम्बन्धित (डेरी, फलामे सामान, स्टेसनरी, बाख्रा पालन) व्यवसायका बढी रहेको ।
१०. नेपाल छुर्पी व्यवसायी संघ
दफा ११.३ र ११.५: दर्ता भएको ३ वर्ष नपुगेको । ‘नेपाल डेरी एसोसिएसन’ सँग वर्ग जुधेको । सदस्यहरू यार्सागुम्बा संघमा पनि आवद्ध रहेको र अन्य व्यवसाय गर्नेहरू बढी भएको ।
११. नेपाल ओखर उत्पादक तथा व्यवसायी संघ
दफा ११.२ र ११.३: दर्ता भएको ३ वर्ष नपुगेको । सदस्य सूचीमा ७७ जना भनिए पनि नाम दोहोरिएर वास्तविक सदस्य ७४ मात्र रहेको । सदस्यहरू किवी, जुत्ता, सुन्तला व्यवसायका बढी रहेको ।
१२. नेपाल राष्ट्रिय पुस्तक विक्रेता तथा प्रकाशक संघ
दफा ११.५: ‘नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ’ को वर्गसँग कार्यक्षेत्र जुधेको ।
१३. नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ
दफा ११.५: ‘नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ’ को वर्गसँग कार्यक्षेत्र जुधेको ।
१४. नेपाल सुन्तला तथा कागती संघ
दफा ११.२ र ११.३: दर्ता भएको ३ वर्ष नपुगेको । सदस्य सूचीमा सुन्तला व्यवसाय भन्दा बाहिरका (होटल, रुद्राक्ष, सुपारी) व्यवसायका व्यक्ति र फर्महरू बढी रहेको ।
१५. प्लास्ट नेपाल फाउन्डेसन
दफा ११.५: ‘नेपाल प्लास्टिक उत्पादक संघ’ को वर्गसँग कार्यक्षेत्र जुधेको ।
१६. नेपाल सिंगिङ बाउल संघ
दफा ११.३ र ११.५: ३ वर्ष नपुगेको । प्रचलित कानून बमोजिम दर्ता भएका सदस्य नभई ‘प्यान’ लिएका प्राकृतिक व्यक्ति मात्र सदस्य रहेको र ‘नेपाल हस्तकला महासंघ’ सँग कार्यक्षेत्र जुधेको ।
१७. नेपाल कृषि तथा पशुपंक्षी व्यवसायी संघ
दफा ११.३ र ११.५: ३ वर्ष नपुगेको । ‘नेपाल कृषि मेसिनरी व्यवसायी संघ’ सँग कार्यक्षेत्र जुधेको । दर्तावाल सदस्य नभई प्राकृतिक व्यक्ति मात्र सदस्य रहेको ।
१८. नेपाल वितरक महासंघ
दफा ११.४ र ११.५: वस्तुगत महासंघ हुन कम्तीमा १००० सदस्य हुनुपर्नेमा जम्मा ४३ जना मात्र रहेको । साथै शुल्क तिरेका ७५ सदस्य हुनुपर्ने प्रावधान समेत नपुगेको ।
अर्थ चाैतारी ।