काठमाण्डौ । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । वैदेशिक रोजगार विभागका अनुसार गत फागुनको तुलनामा चैत महिनामा श्रम स्वीकृति लिने झन्डै ९ हजारले बढेको छ ।
फागुनमा ५२ हजार ९४४ जनाले श्रम स्वीकृति लिएकामा चैत मसान्तसम्म ८ हजार ८७५ जनाले वृद्धि भएर ६१ हजार ८१९ जनाले श्रम स्वीकृति लिएका छन् । विभागका अनुसार चैतमा ५५ हजार ७१२ पुरुष र ६ हजार १०७ महिलाले श्रम स्वीकृति पाएका छन् । यस सङ्ख्यामा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या पनि जोडिएको छ। नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या भने २० हजार ५४५ छ । जसमा १७ हजार ६७० पुरुष र २ हजार ८७५ महिला रहेका छन्।
यसरी चैत महिनामा मात्रै वैदेशिक रोजगारीको खोजीमा करिब ६२ हजार नेपाली बिदेसिएका हुन् । वर्तमान सरकारको मुख्य प्राथमिकता स्वदेशमा नै रोजगारी सिर्जना गरी वैदेशिक रोजगारीमा कमी ल्याउने हो । तर, सरकार बनेको पहिलो महिनामा नै आधा लाख बढी नेपाली रोजगारीको खोजीमा बिदेसिएका छन् । धेरै नेपाली मलेसिया, युरोप र खाडी राष्ट्र नै जाने गरेका छन् । तथ्याङ्कअनुसार चैतमा सबैभन्दा बढी १८ हजार ६ सय ४९ जना नेपाली मलेसिया गएका छन्।
दोस्रोमा संयुक्त अरब इमिरेट्स (युएई) मा ११ हजार ४ सय ६३, कतारमा ८ हजार ९ सय ५९ र साउदी अरबमा ८ हजार ९ सय २० जना गएका छन्। पछिल्लो समय युरोपेली राष्ट्रहरूमा पनि नेपालीको आकर्षण बढेको देखिएको छ। रोमानियाका लागि ४ हजार ४ सय ३८ जनाले श्रम स्वीकृति लिँदा जापानका लागि १ हजार ६ सय २६ र साइप्रसका लागि १ हजार ३९ जनाले श्रम स्वीकृति लिएका छन्।
विभागको तथ्याङ्क अनुसार रोजगारीमा नयाँ जानेभन्दा बिदामा आएर पुनः सोही देश फर्किने श्रमिकको सङ्ख्या धेरै छ । चैतमा ४१ हजार २ सय ७४ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।
त्यस्तै, म्यानपावर कम्पनी (संस्थागत) मार्फत ११ हजार ५ सय ५८ जना गएका छन् भने व्यक्तिगत रूपमा नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या ८ हजार ६ सय ५२ रहेको छ। सरकार–सरकार (जी–टु–जी) सम्झौतामार्फत (विशेष गरी दक्षिण कोरिया) ३ सय ३५ जना नेपाली बिदेसिएका छन्।
मधेस प्रदेशबाट धेरै नेपाली बिदेसिए
विभागको तथ्याङ्क अनुसार जिल्लागत रूपमा हेर्दा वैदेशिक रोजगारीमा जानेमा मधेस प्रदेशका जिल्लाहरू सबैभन्दा अगाडि छन्। चैतमा धनुषा जिल्लाबाट सर्वाधिक ३ हजार ८ सय २९ जनाले श्रम स्वीकृति लिएका छन्। त्यस्तै, सिराहाबाट २ हजार ६ सय ९८, महोत्तरीबाट २ हजार ६ सय २२, झापाबाट २ हजार ५ सय ३३ र मोरङबाट २ हजार २ सय १२ जना नेपाली बिदेसिएका छन्।
सीपयुक्त जनशक्ति कति ?
वैदेशिक रोजगारीमा जाने नेपालीमध्ये धेरैजसो दक्ष कामदारको रूपमा दर्ता भएका छन् । तथ्याङ्कअनुसार ४२ हजार २१ जना दक्ष कामदारका रूपमा बिदेसिएका छन्।
त्यस्तै, कुनै पनि सीप नभएका श्रमिकको सङ्ख्या १३ हजार ३ सय ६६ रहेको छ। अर्धदक्ष ६ हजार १०९, प्रोफेसनल २५३ र उच्च दक्ष श्रमिकको सङ्ख्या ७० जना मात्र रहेको विभागले जनाएको छ ।
अर्थ चाैतारी ।