logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • शनिबार बिहानदेखि तीन ठाउँको सुकुमबासी बस्ती हटाउने निर्णय

    शनिबार बिहानदेखि तीन ठाउँको सुकुमबासी बस्ती हटाउने निर्णय

    39
    SHARES
    शनिबार बिहानदेखि तीन ठाउँको सुकुमबासी बस्ती हटाउने निर्णय

    काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले वैशाख १२ गते बिहानदेखि काठमाण्डौका ३ स्थानको सुकुमबासी बस्तीको टहरा भत्काउने निर्णय गरेको छ ।



    बिहीबार काठमाण्डौका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले जिल्ला सुरक्षा समितिको बैठकमा त्यसबारे छलफल गरेका थिए । सुरक्षा समितिको बैठकपछि उनले काठमाण्डौ महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ सँग पनि छलफल गरेका थिए ।

    जिल्ला सुरक्षा समिति र काठमाण्डौ महानगरपालिकाका कार्यवाहक प्रमुखसँग छलफल गरेपछि पहिलो चरणमा ३ ठाउँको सुकुमबासी बस्ती हटाउने निर्णय गरिएको छ । पहिलो चरणमा थापाथली, गैह्रिगाउँ र जडीबुटी स्थित मनहरा खोला किनारको बस्ती खाली गराउने निर्णय गरिएको जिल्ला सुरक्षा समिति काठमाण्डौका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

    उनका अनुसार शनिबार बिहान ६ बजेबाट त्यहाँ डोजर चलाएर सुकुमबासी बस्तीका घर र टहरा हटाउने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिका ती सदस्यले भने, ‘मनहरा खोलाको भक्तपुर तर्फ पनि खाली गराउने कुरा भएको छ, त्यसबारे भक्तपुर प्रशासनले छलफल गरेर टुङ्गो लगाउने कुरा भएको छ ।’

    काठमाण्डौ महानगर, प्रहरी र सशस्त्रका सुरक्षा अधिकारीहरूले उपत्यकाको तिनै स्थानमा अवैध तरिकाले बनाइएका घर र टहरा खाली गर्न माइकिङ सुरु गरेका छन् । वैशाख ११ गते साँझ ७ बजेभित्र घर, टहराहरू खाली गर्न स्थानीय प्रशासनले सूचना दिएको छ । घर, टहरामा भएका सामान र चौपाया तत्काल सार्न र अपाङ्ग, बालबालिका, गर्भवती, सुत्केरा र वृद्ध वृद्धालाई प्राथमिकता दिएर सार्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।

    स्थानीय प्रशासनको निर्णय अनुसार सुकुमबासी बस्तीमा माइकिङ गरेर भनिएको छ, ‘वैशाख १२ गते बिहान ६ बजेबाट घर टहरा भत्काउँदा र अतिक्रमित जग्गा खाली गर्दा व्यवधान सिर्जना गरेमा कडा कारबाही भई जानेछ ।’

    आगामी १० देखी १५ दिनमा वास्तविक भूमिहीन यकिन गरेर बसोबासको प्रबन्ध गर्ने तयारीबारे पनि छलफल भइरहेको जिल्ला प्रशासन कार्यालयका अधिकृतहरू बताउँछन् । घर टहरा भत्काउँदा सुरक्षा व्यवस्था मिलाउन प्रहरी तयार रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । उनले भने, ‘अन्य व्यवस्थापकीय पाटो अरू निकायको हुनेछ, सुरक्षा प्रदान गर्न हामी सधैँ तयार छौँ ।’


    अर्थ चाैतारी
  • विहिबार, १० बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट