काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता शिवकुमार श्रेष्ठले गोल्छालाई नक्सालबाट पक्राउ गरिएको जानकारी दिएका छन् । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवदेनको आधारमा काठमाण्डौ नागार्जुन नगरपालिका-८ बस्ने गोल्छालाई पक्राउ गरिएको सीआईबीको भनाइ छ ।
हिमालयन रिइन्स्योरेन्सका तत्कालीन अध्यक्ष गोल्छासमेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९४, ९५, ९६ को उपदफा-१ र दफा-९८ बमोजिम कसुरमा उक्त ऐनको दफा १०३ को उपदफा ३ बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन २०८३ ब्यूरोमा प्राप्त भएपछि वैशाख १० गते (आज) काठमाण्डौ जिल्ला अदालत बबरमहलबाट पक्राउ अनुमति लिई गोल्छालाई पक्राउ गरिएको हो ब्यूरोले जनाएको छ ।
के हो आरोप ?
सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पक्राउ परेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको सेयर कारोबारको विषयमा सहयोग गरेको अभियोगमा गोल्छालाई प्रहरीले पक्राउ गरेको हो । हिमालय रि इन्स्योरेन्सको रकम दुरुपयोग गरि दीपक भट्ट, सुलभकी श्रीमती सुभी अग्रवाल, राजबहादुर शाह र ऋषिराज मोरको व्यक्तिगत नाममा सेयर किनेर त्यसलाई राफसाफ गर्ने कार्यमा सहयोग गरेको आरोप गोल्छामाथि नेपाल धितोपत्र बोर्डको अध्ययन प्रतिवेदनले लगाएको थियो ।
गोल्छा हिमालयन रि इन्स्योरेन्सका तत्कालीन अध्यक्ष हुन् । हिमालय रि इन्स्योरेन्सको २ अर्ब ७३ करोड रुपैयाँ बक्यौता रहेको अनुसन्धानमा देखिएको छ । यद्दपि, व्यक्तिगतरुपमा शेखर गोल्छा उक्त दुरुपयोग भएको भनिएको रकमको प्रत्यक्ष लाभग्राही भने छैनन् ।
हिमालयन रि–इन्स्योरेन्स कम्पनीमा दीपक भट्ट एकल सञ्चालक रहेको इन्फिनिटी होल्डिङ्सको ४.५ प्रतिशत र शेखर गोल्छा सञ्चालक रहेको हंसराज हुलासचन्द एण्ड कम्पनीको २.० प्रतिशत सेयर स्वामित्व रहेको छ । हिमालयन सेक्युरिटिज बैंकर हिमालयन रि–इन्स्योरेन्सको सहायक कम्पनी हो । जसमा हिमालयन रि–को ७५ प्रतिशत, दीपक भट्टको ७ प्रतिशत र शेखर गोल्छाको २.५ प्रतिशत सेयर स्वामित्व छ । यस्तै हिमालयन क्यापसर्वमा पनि हिमालयन रि–को शतप्रतिशत सेयर स्वामित्व रहेको छ ।
हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकरमा दीपक भट्टकी पत्नी आयुष्मा नेपालको ८.२५ प्रतिशत सेयर स्वामित्व छ । जसले एचएलआई लार्ज क्याप फण्ड सामूहिक लगानी कोषको योजना सञ्चालन गरिरहेको छ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीमा दीपक भट्टको १५ प्रतिशत सेयर स्वामित्व छ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्समा दीपक भट्टको १५ प्रतिशत सेयर स्वामित्व छ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्समा हिमालयन रि–इन्स्योरेन्सको १५ प्रतिशत सेयर स्वामित्व छ ।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा पनि हिमालयन रि-इन्स्योरेन्सको २१.४३ प्रतिशत सेयर स्वामित्व छ । हिमालयन रि–इन्स्योरेन्सका शेखर गोल्छा पूर्वअध्यक्ष हुन् ।
धितोपत्र बोर्डले हिमालयन रि–इन्स्योरेन्स कम्पनी, हिमालयन क्यापसर्भ, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, हिमालयन सेक्युरिटिज बैंकर, एचएलआई लार्ज क्याप फण्ड, रोहित गुप्ता, शेखर गोल्छा, सुभी अग्रवाल, हिमालयन लाइफ इन्स्योरेन्स, ऋषिराज मोर र राजबहादुर शाहलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५ र ९८ बमोजिमको कसुरमा सहयोगी रहेको भन्दै दफा १०३ को उपदफा (३) अनुसार अनुसन्धानको लागि प्रहरी प्रधान कार्यालयमा पठाउन सिफारिस गरिएको छ ।
अर्थ चाैतारी ।