logo

२०८३ बैशाख १४, सोमबार

logo
  • २०८३ बैशाख १४, सोमबार
  • एक सय भन्दा बढी मूल्यको सामानमा भन्सार शुल्क लाग्ने सरकारी निर्णय विरूद्ध रिट दर्ता

    एक सय भन्दा बढी मूल्यको सामानमा भन्सार शुल्क लाग्ने सरकारी निर्णय विरूद्ध रिट दर्ता

    273
    SHARES
    एक सय भन्दा बढी मूल्यको सामानमा भन्सार शुल्क लाग्ने सरकारी निर्णय विरूद्ध रिट दर्ता

    काठमाण्डौ । नेपाल–भारत सीमानाकाबाट घरायसी प्रयोजनका लागि एक सय रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउँदा भन्सार शुल्क लाग्ने सरकारी निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ताहरू अमितेश पण्डित, आकाश महतोसहित सुयोग्य सिंह र प्रशान्त विक्रम शाहले सोमबार उक्त निर्णय खारेजीको माग गर्दै रिट दायर गरेका हुन् ।



    नेपाल–चीन सीमानाका वा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने यात्रीहरूका लागि भन्सार छुटको सीमा बढी भएको तर भारतसँगको खुल्ला सीमामा १०० रुपैयाँको मात्र सीमा तोकिनुले मधेस र तराई क्षेत्रका नागरिकमाथि भौगोलिक र वर्गीय विभेद भएको जिकिर गरिएको छ ।

    आजको महँगीको युगमा १०० रुपैयाँमा कुनै पनि दैनिक उपभोग्य वस्तु आउन नसक्ने भन्दै यो सीमालाई ‘अव्यवहारिक र अतार्किक’ भनिएको छ । यसले गर्दा सीमावर्ती क्षेत्रका सर्वसाधारणले दैनिक उपभोग्य वस्तु (तरकारी, औषधि, कपडा) ल्याउँदा समेत भन्सार कर्मचारी र सुरक्षाकर्मीबाट हैरानी खेप्नुपरेको उल्लेख छ । निवेदकहरूले अर्थ मन्त्रालयले २०८० जेठ १५ र २०८२ जेठ १५ मा प्रकाशित गरेको उक्त भन्सार सम्बन्धी सूचना खारेज गर्न ‘उत्प्रेषण’को आदेश माग गरेका छन् ।

    साथै मुद्दाको अन्तिम किनारा नलागेसम्म सीमा क्षेत्रका नागरिकलाई दैनिक उपभोग्य वस्तु र विवाह वा सामाजिक संस्कारका लागि ल्याइने सामानमा अवरोध नगर्न र भन्सार नलिन ‘अन्तरिम आदेश’ समेत जारी गर्न माग गरिएको छ । सन् १९६० को नेपाल–भारत व्यापार सन्धिका प्रावधानहरू अनुसार दुई देशबिच वस्तुको सहज प्रवाह हुनुपर्नेमा यो निर्णयले उक्त सन्धिलाई समेत चुनौती दिएको रिटमा उल्लेख छ ।

    रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय र भन्सार विभागलाई विपक्षी बनाइएको छ । यो रिटमाथि प्रारम्भिक सुनुवाइ भएपछि सर्वोच्चले सरकारसँग जवाफ माग गर्ने वा अन्तरिम आदेश दिने सम्बन्धमा निर्णय गर्नेछ। रिट निवेदकहरूले सरकारको यो कदमले नेपालको संविधानद्वारा प्रदत्त मौलिक हक, समानताको हक र स्वतन्त्रताको हकको ठाडो उल्लङ्घन गरेको दाबी गरेका छन्।


    अर्थ चाैतारी
  • सोमबार, १४ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट