logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • वाणिज्य बैंकहरूको नाफा १९ प्रतिशतले बढ्यो, ९ महिनामा ४९ अर्ब २१ करोड आर्जन

    वाणिज्य बैंकहरूको नाफा १९ प्रतिशतले बढ्यो, ९ महिनामा ४९ अर्ब २१ करोड आर्जन

    520
    SHARES
    वाणिज्य बैंकहरूको नाफा १९ प्रतिशतले बढ्यो, ९ महिनामा ४९ अर्ब २१ करोड आर्जन
    काठमाण्डौ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिना (तेस्रो त्रैमास) सम्ममा ४९ अर्ब २१ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.२९ प्रतिशत अर्थात् ७ अर्ब ९६ करोड रुपैयाँले बढी हो । गत आव २०८१/८२ को चैत मसान्तसम्म बैंकहरूले कुल ४१ अर्ब २५ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।
    समीक्षा अवधिमा १३ वटा बैंकको नाफामा सुधार देखिएको छ भने ७ वटा बैंकको नाफा घटेको छ । नाफाको अंकका आधारमा नबिल बैंक सबैभन्दा अगाडि देखिएको छ । नबिल बैंकले गत वर्षको तुलनामा ३३.९१ प्रतिशतले नाफा बढाउँदै ६ अर्ब ७६ करोड ४६ लाख रुपैयाँ आर्जन गरेको छ । प्रतिशतका आधारमा भने कुमारी बैंकको वृद्धिदर सबैभन्दा उच्च छ । गत वर्षको चैतमा २८ करोड ५८ लाख रुपैयाँ मात्र नाफा गरेको कुमारीले यस वर्ष १ हजार ३६१ प्रतिशतको छलाङ मार्दै ४ अर्ब १७ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
    अन्य बैंकहरूमध्ये राष्ट्रिय वाणिज्य बैंकले १२९.३३ प्रतिशतले नाफा बढाएर २ अर्ब ७६ करोड २० लाख रुपैयाँ पुर्‍याएको छ । त्यस्तै, हिमालयन बैंकको ५२.४९ प्रतिशत, माछापुच्छ्रे बैंकको ५०.४२ प्रतिशत, सानिमा बैंकको ४२.२२ प्रतिशत, प्राइम बैंकको ३८.५७ प्रतिशत र सिटिजन्स बैंकको ३५.८२ प्रतिशतले नाफा बढेको छ । यसै गरी लक्ष्मी सनराइज, नेपाल एसबीआई, सिद्धार्थ, एनएमबि र नेपाल बैंकको नाफामा पनि सामान्यदेखि मध्यम सुधार देखिएको छ ।
    तर, केही ठुला बैंकहरूको नाफामा भने संकुचन आएको छ । प्रभु बैंकको नाफा सबैभन्दा धेरै ५४.६१ प्रतिशतले घटेर ८५ करोड १५ लाख रुपैयाँमा सीमित भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३०.६८ प्रतिशत, कृषि विकास बैंकको २४.४२ प्रतिशत र एनआईसी एशिया बैंकको १०.४९ प्रतिशतले घटेको छ । यस्तै, एभरेष्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र ग्लोबल आइएमई बैंकको नाफामा पनि २ देखि ४ प्रतिशतसम्मको सामान्य गिरावट देखिएको छ । नाफा घटे पनि ग्लोबल आइएमईले ४ अर्ब ४० करोड र एभरेष्ट बैंकले ३ अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको नाफा जोगाउन सफल भएका छन् ।


    अर्थ चाैतारी
  • मंगलबार, १५ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट