काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (चैत मसान्त) सम्ममा हिमालयन बैंक लिमिटेडको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ५२.४० प्रतिशतले बढेको छ।
चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले ७६ करोड २५ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो नाफा ५० करोड ४ लाख ८ हजार रुपैयाँ मात्र सीमित थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४.७२ प्रतिशतले बढेर ७ अर्ब १७ करोड २७ लाख ७२ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ६ अर्ब ८४ करोड ९४ लाख ८ हजार रुपैयाँ थियो। यस्तै, बैंकको खुद फि तथा कमिसन आम्दानी पनि १२.३९ प्रतिशतले बढेर ८३ करोड ७२ लाख ४८ हजार रुपैयाँ पुगेको छ।
बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ८.५३ प्रतिशतले बढेर ८ अर्ब ३२ करोड ८८ लाख २३ हजार रुपैयाँ पुगेको छ। यद्यपि, बैंकको सञ्चालन मुनाफा भने ६९.६० प्रतिशतले घटेर १ अर्ब १५ करोड ६१ लाख ८३ हजार रुपैयाँमा खुम्चिएको छ।
यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १० अर्ब ४६ करोड ७९ लाख १७ हजार रुपैयाँ ऋणात्मक रहेको छ। बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब ३१ करोड ९५ लाख रुपैयाँबाट उल्लेख्य बढेर ३ अर्ब १२ करोड ५३ लाख ८८ हजार रुपैयाँ पुगेको छ, जसका कारण सञ्चालन मुनाफामा दबाब देखिएको हो।
नाफामा सुधार भएसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस ) पनि बढेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४२ पैसाले बढेर ४ रुपैयाँ ५० पैसा कायम भएको छ। यस्तै, बैंकको प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ९६ पैसा र मूल्य आम्दानी अनुपात ४६.३१ गुणा रहेको छ।
हाल २२ अर्ब ५८ करोड १६ लाख ५६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २६ अर्ब १९ करोड २ लाख रुपैयाँ सञ्चित छ भने रिटेन्ड अर्निङ १० अर्ब ४६ करोड ७९ लाख रुपैयाँ ऋणात्मक छ। बैंकले चैत मसान्तसम्ममा ३ खर्ब ३८ अर्ब १८ करोड १८ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३१ अर्ब ४३ करोड ३० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।
अर्थ चाैतारी ।