सिन्धुपाल्चोक । सिन्धुको पानी, सिन्धुपाल्चोककै लगानीको अवधारणा अनुरूप भोटेकोशी–५ जलविद्युत आयोजना सुरु भएको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे क्षेत्रमा कालिका इनर्जी लिमिटेडले निर्माण गरिरहेको भोटेकोशी–५ जलविद्युत आयोजनाले स्थानीय समुदायको हितलाई उच्च प्राथमिकता दिँदै ४६ मेगावाटको आयोजना निर्माण कार्य सुरु भएको हो ।
विद्युत् उत्पादन गर्ने माध्यम मात्र नभई, स्थानीय विकास, रोजगारी, पर्यावरण संरक्षण र दीर्घकालीन समृद्धिको एउटा महत्त्वपूर्ण आधार बन्दै गएको सिन्धुपाल्चोकमै जन्मिएका जलविद्युत व्यवसायी मोहनविक्रम कार्कीले बताए । आयोजनाको डिजाइन गर्दा रक क्लास (ढुंगा तथा भूगर्भको अवस्था) को विस्तृत अध्ययन गरी बस्ती पूर्ण रूपमा सुरक्षित हुने गरी संरचना निर्माण गरिएको छ । कुनै पनि जोखिमलाई न्यूनीकरण गर्न वैज्ञानिक तथा प्राविधिक रूपमा सबल डिजाइन तयार पारिएको छ ।
आयोजनाले सबै कानुनी, प्राविधिक तथा प्रशासनिक प्रक्रिया पूरा गरेको छ । प्रभावित क्षेत्रका बासिन्दाहरूको मागलाई अधिकतम सम्बोधन गर्दै बाह्रबिसे बजार क्षेत्र, कल्लेरी, खरिबोटे, जम्बू, नेपालगाउँ, सिरिसे र सिगार्चे का स्थानीय सरोकारवालाहरूसँग सम्झौता भइसकेको छ । एजी रिसर्च एण्ड ट्रृनिग प्रालि मार्फत अतिप्रभावित क्षेत्रका घरधुरी सर्वेक्षण गरी रिपोर्ट समेत तयार पारिएको छ । आयोजनाले भविष्यमा स्थानीयहरूका उचित माग आएमा थप सम्झौता गर्न पनि तयार रहेको बताएको छ ।
आयोजनाले खानेपानीको सम्भावित प्रभावलाई ध्यानमा राखी खानेपानीका योजनाहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । यसबाहेक, हिउँदको समयमा खोलामा कम्तीमा २० प्रतिशत पानी (आयोजनाले खोलामा १० प्रतिशत छोड्ने र बाँकी खोला–खोल्साबाट) निरन्तर बग्ने व्यवस्था मिलाइएको छ । आयोजनाको सुरुङ्गबाट ५० क्युसेक पानी जाने भएकाले उच्च बाढीको अवस्थामा समेत बाह्रबिसे क्षेत्रलाई थप सुरक्षित बनाउने अपेक्षा गरिएको छ ।
आयोजनाले निर्माण चरणमा प्रवेश गर्दा नै ८२ जना भन्दा बढी स्थानीय युवाहरूलाई रोजगारी दिइरहेको छ । कामदार छनोट गर्दा सीप, क्षमता र योग्यता लाई प्राथमिकता दिइएको छ । यसबाहेक, आयोजनामा प्रयोग हुने मेसिन तथा उपकरणहरू सम्भव भएसम्म स्थानीयबाट नै उपलब्ध गराइएको छ, जसले स्थानीय व्यवसायीलाई समेत फाइदा पु¥याएको छ ।
यो आयोजना ३० वर्ष पश्चात् नेपाल सरकारलाई निःशुल्क रूपमा हस्तान्तरण हुने भएकाले यो सरकारकै सम्पत्ति हो । आयोजना सञ्चालन अवधिभर सरकारलाई आयोजनाले कर तथा रोयल्टीहरु बुझाउने छ, जसको हिस्सा स्थानीय तहलाई समेत प्राप्त हुनेछ । स्थानीय बासिन्दाहरूलाई १० प्रतिशत शेयरको ग्यारेन्टी गरिएको छ भने संस्थापक शेयरमा पनि स्थानीयलाई प्राथमिकता दिइने आयोजनाले जनाएको छ ।
अर्थ चाैतारी ।