काठमाण्डौ । अर्थ मन्त्रालयले आफ्ना कर्मचारीहरूलाई थप जिम्मेवार, मर्यादित र अनुशासित बनाउन कडा प्रावधानसहितको नयाँ आचारसंहिता जारी गरेको छ । मन्त्रालयले ‘अर्थ मन्त्रालय कर्मचारी आचारसंहिता, २०८३’ कार्यान्वयनमा ल्याउँदै कर्मचारीहरूलाई सरकारका नीति तथा कार्यक्रमप्रति पूर्ण बफादार रहन र पदीय दायित्व निर्वाह गर्दा पूर्ण राजनीतिक तटस्थता कायम गर्न निर्देशन दिएको छ ।
नयाँ व्यवस्थाअनुसार अब कर्मचारीले कुनै पनि राजनीतिक दल वा नेताको पक्ष-विपक्षमा विचार व्यक्त गर्न, राजनीतिक कार्यक्रममा सहभागी हुन र व्यक्तिगत स्वार्थका लागि राजनीतिक प्रभाव वा दबाब सिर्जना गर्न पाउने छैनन् । कर्मचारीको आचरण निजामती सेवाको मूल सिद्धान्तबाट निर्देशित हुनुपर्ने र उनीहरूले राष्ट्र र जनताको हितलाई सधैं सर्वोपरि राख्नुपर्ने मन्त्रालयले स्पष्ट पारेको छ ।
विशेषगरी प्रविधि र सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई व्यवस्थित गर्न मन्त्रालयले थप कडाइ गरेको छ । कर्मचारीले पदीय हैसियतले प्राप्त गरेका गोप्य सूचनाहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न नपाउने, सरकारी निर्णयको गलत व्याख्या गरी भ्रामक प्रचार गर्न नहुने र अन्य पदाधिकारीको मान-मर्यादामा आँच पुग्ने गरी व्यङ्ग्य वा टिका-टिप्पणी गर्न नहुने नियम बनाइएको छ । कार्यालय समयभित्र व्यक्तिगत प्रयोजनका लागि मोबाइल वा कम्प्युटरमार्फत सामाजिक सञ्जाल चलाउन पूर्ण रोक लगाउँदै सरकारी कामका लागि अनिवार्य रूपमा सरकारी इमेल मात्र प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यसैगरी, आर्थिक पारदर्शिता र सदाचारलाई जोड दिँदै आचारसंहिताले कर्मचारीलाई सेवाग्राहीसँग कार्यस्थल बाहिर भेटघाट गर्न र कुनै पनि प्रकारको उपहार वा आतिथ्यता स्वीकार गर्न निषेध गरेको छ । कर्मचारीले आफ्नो जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्नुपर्ने र अनुशासन उल्लंघन गरेमा कारबाहीको भागीदार हुनुपर्ने चेतावनी दिइएको छ । यस आचारसंहिताको पालना भए-नभएको बारे मन्त्रालयका सचिव र विभागीय प्रमुखहरूबाट नियमित अनुगमन हुने र उल्लंघन गर्नेलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ ।
Skip to PDF content
अर्थ चाैतारी ।