काठमाण्डौ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को नयाँ नेतृत्व चयनको लागि चुनावी सरगर्मी बढेको छ। गामी जेठ २९ गतेका लागि निर्धारण भएको इप्पानको साधारण सभाबाट नयाँ नेतृत्व चयनका लागि उपाध्यक्ष उत्तम लामा भ्लोनको नेतृत्वमा टिम घोषण भएको छ।
बुधबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा भ्लोनले तीन वर्षे कार्यकालको भिजन र टिम घोषणा गरेका हुन्। इप्पानमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था छ। भ्लोनले इप्पानको वरिष्ठ उपाध्यक्षको लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। उनको नेतृत्वमा उपाध्यक्षमा उत्तरकुमार श्रेष्ठ, हिम पाठक, सुसन कर्माचार्य र बिक्रम विष्ट टिममा समावेश भएका छन्। त्यसैगरी, महासचिवमा टिएन आचार्य र उपमहासचिवमा कविता कडेललाई अघि सारिएको छ। कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्त समेटिएका छन्।
कार्यसमितिको पाँच जना सचिवमा विजयमोहन भट्टराई, कुवेरमणि नेपाल, सुमन जोशी, शंकर बस्याल र अविज्ञा मल्ललाई उम्मेदवार घोषणा गरिएको छ। त्यसैगरी सदस्यमा अनुप आचार्य, जगतबहादुर पोखरेल, कदम केसी, वर्णन लामिछाने, इसा श्रेष्ठ र प्रतिमा ज्ञवाली रहेका छन्। भ्लोन नेतृत्वको टिमले आगामी ३ वर्षमा गर्ने कामको एजेण्डासहितको इप्पान भिजन २०२९ घोषणा गरेको छ। उक्त भिजनमा मुलुकलाई उर्जामा आत्मनिर्भर बनाइ ऊर्जा क्षेत्रलाई आर्थिक समृद्धिको मुख्य आधारका रूपमा स्थापित गर्ने प्रतिबद्धता उल्लेख गरिएको छ।
भिजन २०२९ सार्वजनिक गर्दैै वरिष्ठ उपाध्यक्षका उम्मेदवार भ्लोनले भने, ‘सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ, जसका लागि ५० खर्ब रुपैयाँभन्दा बढी लगानी आवश्यक पर्ने देखिएको छ। यो महत्वाकांक्षी लक्ष्य प्राप्तिका लागि निजी क्षेत्रको भूमिका निर्णायक हुन्छ। तर, यो लगानीका लागि विद्युत् खरिद सम्झौता (पीपीए), प्रसारण लाइन र प्रशासनिक जटिलता गम्भीर चुनौतीका रुपमा छन्।’

आगामी वर्षहरुमा यी जटिलता फुकाउन पहल गर्ने उनले बताएका छन्। त्यसैगरी, अहिले करिब १२ हजार मेगावाट भन्दा बढीका आयोजनाहरूको पीपीए रोकिएको अवस्थालाई खुलाउन पहल गर्ने पनि उनले बताएका छन्। ऊर्जा क्षेत्रको तीव्र विकासका लागि नीतिगत सुधारको आवश्यकता औंल्याउँदै उनीहरुले जलविद्युत् आयोजनाको अनुमतिपत्रको अवधि ३५ वर्षबाट बढाएर ५० वर्ष पुर्याउनुपर्ने माग अघि सारेका छन्।
साथै, वन, वातावरण र प्रशासनिक प्रक्रियामा हुने ढिलाइ अन्त्य गर्न ‘एकद्वार प्रणाली’ लागू गर्न र ऊर्जा क्षेत्रलाई प्राथमिकता प्राप्त क्षेत्र घोषणा गरी ७ प्रतिशतभन्दा कम ब्याजदरमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनु पर्ने माग भिजन पत्रमा उल्लेख छ। विद्युत् व्यापारको क्षेत्रमा नेपाललाई दक्षिण एसियाकै ऊर्जा केन्द्र बनाउने लक्ष्यका साथ भारतसँग १० वर्षमा १० हजार मेगावाट र बंगलादेशसँग ५ हजार मेगावाट विद्युत् निर्यात गर्ने योजनालाई प्रभावकारी रूपमा अघि बढाउन कुटनीतिक पहल लिने भ्लोन नेतृत्वको टिमको भिजन पत्रमा उल्लेख छ।
यसका साथै, निजी क्षेत्रलाई पनि विद्युत् व्यापार र प्रसारण लाइन निर्माणमा सहभागी गराउनुपर्ने विषयलाई प्राथमिकताका साथ अघि बढाउने उनीहरुले बताएका छन्। आगामी दिनमा इप्पानलाई केबल दबाब समूहका रूपमा मात्र नभई नीति अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने संकल्प उनीहरुले गरेका छन्।
विद्यमान नीतिगत अस्पष्टता र अवरोधहरूलाई चिर्दै अघि बढ्न सके नेपाल आगामी दशकभित्रै दक्षिण एसियाकै महत्वपूर्ण ऊर्जा केन्द्र बन्ने पर्याप्त सम्भावना रहेको दस्तावेजमा उनीहरुले सार्वजनिक गरेको दस्तावेजमा उल्लेख छ।
यस्तो छ ‘भिजन २०२९’ :
Skip to PDF content
अर्थ चाैतारी ।