काठमाण्डौ । नेपाल सरकारले कर्मचारीहरुलाई पूरा बाहुला भएका पोशाक लगाउन अनुरोध गरेको छ । सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यास्थल वरपर सफा गर्न र पुरा बाहुला भएको लुगा लगाउन सबै कर्मचारी एवं सार्वजनिक, सामुदायिक र निजी क्षेत्रमा कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई आग्रह गरेको छ ।
मन्त्रालयले देशभर डेंगु रोगको प्रकोपलाई मध्यनजर गर्दै त्यसको जोखिम कम गर्न कर्यास्थल परिपरी निरन्तर सफा गर्न र कार्यालय समयमा पुरा बाहुला भएको पोशाक अनिवार्य लगाउन मन्त्रालयले निर्देशन दिएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार डेंगु रोगबाट बच्ने सबैभन्दा उत्तम उपाय लामखुटटेको टोकाइबाट बच्नु हो । प्राय दिनको समय,विशेष गरी बिहान र बेलुकाको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाईबाट डेंगु रोग लाग्ने उनले बताएका छन् ।
मन्त्रालयले जारी गरेको सूचनामा मन्त्रालयले प्रतिकार्य योजना बनाइ विभिन्न गतिविधि सन्चालन गरिरहेको जनाकारी दिइएको छ । सो सूचनामा लेखिएको छ,”डेंगुको बढ्दो संक्रमणलाई न्यूनीकरण गर्न प्रदेश, जिल्ला र स्थानीय तहसँगको समन्वयमा लामखुट्टेका लार्भा ‘खोज र नष्ट गर’ अभियानलाई तीव्र बनाइएको छ ।”

अर्थ चाैतारी ।