काठमाण्डौ । नाडा ईभी एक्स्पोमा प्रि–टिकट बुकिङ खुल्ला भएको छ। असोज ६ देखि ९ गतेसम्म नेपालमा पहिलोपटक विद्युतीय सवारी एक्स्पोमा अनलाइन टिकट काट्न सकिने भएको हो।
नाडा ईभीमा प्रवेशको लागि विद्यार्थीलाई १५० रुपैयाँ र सर्वसाधारणको लागि २ सय रूपैयाँ लाग्नेछ। नाडा अटोमोबाइल्स एसोसिएन अफ नेपालका अध्यक्ष ध्रुव थापाले नाडा अटो शो गर्ने तयारी भइरहँदा सरकारले अटो आयातमा प्रतिबन्ध लगाएसँगै ईभी एक्स्पो गर्न लागिएको बताए। थापाले अनलाइन मार्फत टिकेटको प्रि–बुकिङ गर्न सकिने र प्रि–बुकिङमा छुटको व्यवस्था गरिएको जानकारी दिए।
नाडाका अनुसार असोज ५ गतेसम्म प्रि–बुकिङको व्यवस्था गरिएको छ। खल्ती एपबाट टिकट बुक गर्दा २० प्रतिशत सहुलियतमा पाइन्छ । नाडाका अनुसार विद्युतीय गाडीले १० प्रतिशत बजार हिस्सा ओगटिसकेको छ । अबको ५–६ वर्षमा ५० प्रतिशत बढी हिस्सा हुने बताइएको छ।
नेपाल विद्युत् प्राधिकरण सहयोगी संस्थाको रुपमा सहभागी भएको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुने उक्त एक्स्पोमा सेमिनार समेत हुने नाडाले जनाएको छ । एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरिरहेको छ । सिएटद्वारा प्रायोजित नाडा साधन,पार्ट पुर्जा,वित्तीय सेवा उपलब्ध हुनेछ।
वर्तमान समयमा विद्युतीय सवारीसाधनहरुको महत्व दिनप्रतिदिन बढदै गएको र यस्ता सवारी साधनहरुको बढदो प्रयोगले आफनै मुलुकमा उत्पादित जलविद्युतको उपभोग बढ्न गई देशलाई आत्मनिर्भर बनाउन समेत सहयोग पुग्ने विश्वास आयोजकको छ ।ठूला तथा साना गरी ५१ वटा स्टल र ब्लकहरु रहनेछन्।
एक्स्पोमा ७ वटा ब्राण्डका चारपांग्रे,एउटा तीनपांग्रे, दुई पांग्रे, २ वटा ब्राण्डका टायर, २ वटा ब्राण्डका ब्याट्री, ९ वटा पार्टपुर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा ४ वटा वित्तीय संस्थाहरुको सहभागिता छ।
अर्थ चाैतारी ।