logo

२०८३ जेष्ठ ६, बुधबार

logo
  • २०८३ जेष्ठ ६, बुधबार
  • केयूमा पदमुक्त भएकाहरूलाई नै डिनको जिम्मेवारी

    केयूमा पदमुक्त भएकाहरूलाई नै डिनको जिम्मेवारी

    182
    SHARES
    केयूमा पदमुक्त भएकाहरूलाई नै डिनको जिम्मेवारी

    काठमाण्डौ । काठमाण्डौ विश्वविद्यालय (केयू) मा अध्यादेशबाट नै पदमुक्त भएकालाई निमित्त डिनको जिम्मेवारी दिइएको छ । निमित्त उपकुलपति प्रा.डा ऋषिकेश वाग्लेले पदमुक्त भएका डिनलाई नै सोमबार जिम्मेवारी दिएका हुन् । ‘तत्कालको लागि काम गर्नेगरी जिम्मेवारी दिइएको हो,’ वाग्लेले भने । उनका अनुसार यो पुरानो निरन्तरता चाहिँ होइन निमित्त जिम्मेवारी हो । ‘विश्वविद्यालयको कन्भोकेसन आएकाले उहाँहरूलाई दिएको हो,’ उनले भने । केयूको दीक्षान्त समारोह जेठ अन्तिममा गर्ने तयारी छ ।



    काठमाण्डौ विश्वविद्यालयका ७ वटा स्कुल छन् । मेडिकल साइन्समा प्रा.डा. मनोज हुमागाईं, इन्जिनियरिङमा प्रा.डा. मनिष पोखरेल, स्कुल अफ साइन्समा प्रा.डा. वेदमणि दाहाल, स्कुल अफ म्यानेजमेन्टमा प्रा.डा.विजय केसी, स्कुल अफ एजुकेसनमा प्रा.डा बालचन्द्र लुईंटेल, स्कुल अफ आर्टसमा सहप्राध्यापक डा. उद्धव प्याकुरेल र स्कुल अफ लमा सहप्राध्यापक डा. शिव गिरीलाई जिम्मेवारी दिइएको हो ।

    अध्यादेशबाट उनीहरू पदमुक्त भएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले गत १९ वैशाखमा अध्यादेश जारी गरेका थिए । उक्त अध्यादेशबाट केयूको डिनहरू समेत पदमुक्त भएका थिए । डिनलाई समेत पदमुक्त गरेकोमा केयूका केही प्राध्यापक असन्तुष्ट थिए । केयूको पदाधिकारीमा परीक्षा नियन्त्रक रहेका वाग्ले मात्र बाँकी रहेकाले उनलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको हो । तर उपकुलपतिको जिम्मेवारी पाउनु अघि नै वाग्लेले साहायक डिनहरूलाई गत २३ वैशाखमा डिनको जिम्मेवारी दिएका थिए ।

    विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री बालेन शाहले ३० वैशाखमा वाग्लेलाई उपकुलपतिको जिम्मेवारी दिएका हुन् । फरक–फरक व्यक्तिलाई दुईपटक डिनको जिम्मेवारी दिएपछि कुन चाहिँ आधिकारिक डिन हो भनेर प्राध्यापकहरूको टोली मंगलबार उपकुलपति वाग्लेको कार्यकक्षमा डेलिगेसन गएको छ ।

    ‘२३ गते सहायक डिनलाई जिम्मेवारी दिइएको थियो । फेरि हिजो पुरानै डिनहरूलाई जिम्मेवारी दिएको रहेछ । आधिकारिक को हो भनेर सोध्न गएका थियौं,’ डेलिगेसन गएका एक प्राध्यापकले भने, ‘पदमुक्त भएकालाई कुन ऐनमा टेकेर जिम्मेवारी दिएको हो भनेर उपकुलपति सरलाई सोध्न गएका हौँ ।’ जवाफमा निमित्त उपकुलपति वाग्लेले सोमबार पत्र पाएकाहरू आधिकारिक भएको जवाफ प्राध्यापकको टोलीलाई दिएका छन् ।

    ‘विश्वविद्यालयमा अध्यादेशबाट पदमुक्त भएपछि २१ गते सहायकलाई तत्काल काम गर्न जिम्मेवारी दिएको र हिजो पुदमुक्त हुनुअघिकालाई जिम्मेवारी दिएपछि अघिल्लो पत्र स्वत खारेज भएको बताउनु भयो,’ निमित्ति उपकुलपति वाग्लेको भनाइ उद्धृत गर्दै डेलिगेसनमा सहभागी अर्का एक प्राध्यापकले भने ।

    उपकुलपति वाग्लेले भने शिक्षामन्त्री सस्मित पोखरेलसँग सल्लाह गरेर नै डिनको जिम्मेवारी दिइएको बताए । ‘शिक्षामन्त्रीसँग परामर्श गरेर नै जिम्मेवारी दिएको हुँ,’ उनले उपकुलपति वाग्लेले भने । प्राध्यापकहरूले केयूको सभा छिटो बोलाएर पदाधिकारी नियुक्तिको लागि छनोट समिति बनाउन आग्रह गरेका छन् । प्राध्यापक संघको टोलीले उपकुलपति वाग्लेलाई १० दिनभित्र सभा बोलाएर उपकुलपति छनोट समिति बनाउन अल्टिमेटम दिएका छन् ।

    ‘छिटो समिति बनाएर नयाँ पदाधिकारी आउनु पर्‍यो । समिति बनाउन केयूको सभा बस्नु पर्छ । सभाले समिति बनाउने हो,’ ती प्राध्यापकले भने, ‘उपकुलपति सरलाई १० दिनको समय दिएका छौँ ।’ ३२ जना प्राध्यापकको टोली डेलिगेसन गएको थियो । जवाफमा उपकुलपति वाग्लेले एक साताभित्र नै प्रक्रिया अगाडि बढाउने आश्वास दिएको प्राध्यापकहरूले बताएका छन् ।


    अर्थ चाैतारी
  • बुधबार, ६ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट