काठमाण्डौ । प्रतिनिधि सभाका ६ सदस्यले तोकिएको समयमा सम्पत्ति विवरण नबुझाएको पाइएको छ । संघीय संसद् सचिवालयले जेठ १० गते आइतबारसम्म सांसदहरूलाई सम्पति विवरण बुझाउन समय दिएकामा ६ सांसदले नबुझाएका हुन् ।
तोकिएको समयमा २५४ जना सांसदले सम्पति विवरण बुझाएको र ६ जनाले नबुझाएको संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले रातोपाटीलाई जानकारी दिए । २७५ सदस्यीय प्रतिनिधि सभामा १७ मन्त्री छन् । मन्त्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै सम्पति विवरण बुझाउँछन् ।
सचिवालयका अनुसार एक बहालवाला मन्त्री र एक मन्त्रीबाट बाहिरिएका सांसदले पनि सचिवालयमा पुगेर सम्पत्ति विवरण बुझाएका छन् ।भ्रष्टाचार निवारण ऐनको दफा ५० को उपदफा (१) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन को दफा ३१ क को उपदफा (१) मा रहेको सार्वजनिक पद धारण गरेको व्यक्तिले सार्वजनिक पद धारण गरेको मितिले ६० दिनभित्र आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सा सहितको अद्यावधिक सम्पत्ति विवरण तोकिएको निकाय वा अधिकारी समक्ष पेश गर्नुपर्ने व्यवस्था छ । त्यही अनुसार सचिवालयले सूचनामार्फत फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदहरूलाई जेठ १० गतेसम्म सम्पत्ति विवरण बुझाउन आग्रह गरेको थियो । भनेको थियो ।
सम्पत्ति विवरण नबुझाउने ६ जना सांसदहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीका ५ जना र नेपाली कम्युनिस्ट पार्टीका १ जना छन् । संसद् सचिवालयले नेपाली कम्युनिस्ट पार्टीका धनबहादुर बुढा, रास्वपाका सांसदहरू आशा झा, कोमल ज्ञवाली, तपेश्वर यादव, प्रमोद कुमार महतो र रबिन महतोले सम्पत्ति विवरण नबुझाएको जानकारी दिएको छ ।
अर्थ चाैतारी ।