काठमाण्डौ । सर्वोच्च अदालतले अदालतहरूमा मुद्दाको पेसी व्यवस्थापनका लागि लागू गरिएको ‘गोला प्रक्रिया’ हटाउने वा यसको विकल्प खोज्ने सम्बन्धमा कुनै पनि औपचारिक छलफल नभएको बताएको छ । सर्वोच्च अदालतले विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा गोला प्रक्रियाको विकल्पबारे भइरहेका चर्चा र समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्तो बताएको हो ।
“दैनिक पेसी व्यवस्थापनका लागि अवलम्बन गरिएको गोला प्रक्रियाका बारेमा पुनर्विचार गर्ने कुनै पनि सोच र धारणा औपचारिक रूपमा कतै पनि चर्चा र छलफल नभएको तथा गोला प्रक्रियालाई परिवर्तन गर्ने सम्बन्धमा आधिकारिक रूपमा कुनै धारणा समेत नरहेको जानकारी गराउँछौँ, सर्वोच्च प्रशासनले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
अदालतले सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रसारित त्यस्ता समाचारहरू तथ्यमा आधारित नभएको भन्दै भ्रममा नपर्न सबैलाई आग्रह समेत गरेको छ। विगत केही समयदेखि ‘अदालतहरूमा गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापन सम्बन्धी कार्यविधि निर्देशिका, २०७८’ बमोजिम मुद्दाको पेसी व्यवस्थापन हुँदै आएको छ । यो प्रणाली न्यायालयमा हुन सक्ने सम्भावित चलखेल रोक्न र पारदर्शिता कायम गर्न लागू गरिएको हो।
अर्थ चाैतारी ।