काठमाण्डौ । १६औं सामाजिक व्यवसाय दिवस, नेपाल कन्ट्री फोरम, २०२६ स्वावलम्बन विकास केन्द्रले आइतबार ‘सामाजिक व्यवसायः खण्डित विश्वमा शान्तिको भाषा“ भन्ने मूल नाराका साथ आयोजना गरेको छ। नेपाल फोरमले नोबेल शान्ति पुरस्कार विजेता प्राध्यापक मुहम्मद युनुसको ३ शून्य अवधारणा– शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जन प्राप्त गर्ने पहलअनुरूप साझेदार संस्थाहरूले अपनाएका रणनीतिहरू र हासिल गरेका उपलब्धिहरूमा केन्द्रित सत्रहरूमा जोड दिएको जनाइएको छ।
यस फोरमले अघिल्लो कन्ट्री फोरममा अनुमोदन गरिएको दुई वर्षे कार्ययोजनाको पनि परिमार्जन गर्नेछ । विश्वव्यापी फोरमको विभिन्न पूर्ण र ब्रेकआउट सत्रहरूमा, यसले प्रा. युनुसको ३ शून्य अवधारणानुरूप कार्ययोजनाका साथै निर्धारित लक्ष्य र हासिल गरिएका उपलब्धिहरू प्रस्तुत गर्नेछ। कन्ट्री फोरममा दुई वर्षे कार्ययोजनाको प्रगति, नेपालमा ३ शून्यको अवधारणा र ३ शून्य क्लबको अवस्था र युवा उद्यमशीलता, वातावरणमैत्री गाउँ (इकोभिलेज) निर्माण, गरिबहरूका लागि स्वास्थ्य सेवाको प्रवद्र्धन र सहजीकरणका साथै फोरम आयोजक समितिको कार्ययोजना टोलीद्वारा परिमार्जित दुई वर्षे कार्ययोजनाको रणनीतिक दिशानिर्देशहरूको प्रस्तुतीकरणमा छलफल हुनेछ।
ग्लोबल फोरमको कुरा गर्दा, यो युनुस सेन्टरद्वारा आयोजना गरिने वार्षिक भेला हो जसले विश्वका लागि दिगो, समावेशी र न्यायपूर्ण भविष्यतर्फ नयाँ बाटोको नेतृत्व गरिरहेका सामाजिक व्यवसायका नेताहरू, अगुवाहरु र उद्यमीहरूको सञ्चित अनुभवहरू साटासाट गर्दछ। १६औं सामाजिक व्यवसाय दिवस, युनुस सेन्टर र ग्रामीण समूहको सहकार्यमा जुन २७–२८, २०२६ मा सामाजिक कन्भेन्सन सेन्टरमा आयोजना हुनेछ। यो कन्ट्री फोरम विश्वव्यापी कार्यक्रमकै पृष्ठभूमिमा आयोजना गरिएको हो। सामाजिक व्यवसाय दिवस युनुस सेन्टरद्वारा आयोजना गरिने एक वार्षिक विश्वव्यापी भेला हो जसले विश्वका लागि दिगो, समावेशी र न्यायपूर्ण भविष्यतर्फ नयाँ मार्गको नेतृत्व गरिरहेका सामाजिक व्यवसायका नेताहरू र उद्यमीहरूको सञ्चित अनुभवहरू साझा गर्न र उत्सव मनाउन मद्दत गर्दछ।
प्रमुख अतिथि, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले परम्परागत दियो ‘पानस’ बालेर कार्यक्रमको उद्घाटन गरे। नेपाल कन्ट्री फोरमको अवसरमा फोरम आयोजक समितिका अध्यक्ष शङ्करमान श्रेष्ठले भने, ‘लघुवित्त संस्थाहरू ’घ’ वर्गका वित्तीय संस्थाका रूपमा वर्गीकरण भएपछि नाफामुखी संस्था भए तापनि हामीले सामाजिक–आर्थिक रूपान्तरणका लागि गरिबहरूसँग नाफा बाँडफाँड गर्ने कुरामा ध्यान केन्द्रित गर्नुपर्छ।’
उनले विशेष गरी जीवन विकास अस्पतालको चर्चा गरे, जहाँ विपन्न वर्गका लागि २०० भन्दा बढी बेड क्षमताको २ अर्ब रुपैयाँको अस्पताल निर्माण गर्न लाभांश समेत प्रयोग गरिएको छ। उनले ३ शून्य क्लबमार्फत युवा रोजगारीको प्रवद्र्धन गर्दै गरिबी निवारण, युवा रोजगारी र वातावरण संरक्षणमा पनि जोड दिए। प्रमुख अतिथि, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले भने, ‘वित्तीय समावेशीकरण र उद्यमशीलता विकासको माध्यमबाट गरिबीको समाधान गर्न सकिन्छ।’ उनले लघुवित्तले महिला सशक्तीकरण, सामाजिक समावेशीकरण र गरिबी निवारण जस्ता हाम्रा समाजमा विद्यमान केही आधारभूत समस्याहरूलाई पनि सम्बोधन गर्न सक्ने बताए। वित्तीय संस्था, गैरसरकारी संस्था, नेपाल राष्ट्र बैंक र नागरिक समाजको सहकार्यात्मक दृष्टिकोणले यी समस्याहरू समाधान गर्न सक्ने कुरामा उहाँले जोड दिए।
विशेष अतिथि, ग्रामीण ट्रष्ट, बङ्गलादेशका कार्यकारी उपाध्यक्ष अब्दुल हाई खानले भने, ‘युवाहरू जागिर खोज्ने होइन, जागिर सिर्जना गर्ने बन्नुपर्छ।’ उनले युवा स्वरोजगारी प्रवद्र्धन गर्न ३–जिरो क्लबको प्रवद्र्धनलाई विशेष प्राथमिकता दिए। स्वरोजगारीमार्फत प्राप्त हुने समृद्धिले विभाजित विश्वमा रहेका द्वन्द्व, अराजकता र समस्याहरूलाई सम्बोधन गर्न सक्छ। त्यसैगरी, दुई वर्षे कार्ययोजनाको प्रगति, तीन शून्य अवधारणा र नेपालमा तीन शून्य क्लबको अवस्था तथा युवा उद्यमशीलता, वातावरण मैत्री गाउँ (इको–भिलेज) निर्माण, गरिबका लागि स्वास्थ्य सेवाको प्रवद्र्धन तथा सहजीकरणका साथै फोरम आयोजक समितिको कार्ययोजना टोलीद्वारा संशोधित दुई वर्षे कार्ययोजनाको रणनीतिक दिशानिर्देशको प्रस्तुतीकरणमाथि छलफल गरिएको थियो।
नेपालमा ३–जिरो क्लबको अनुभव आदानप्रदान कार्यक्रममा विभिन्न क्लबहरूमा आबद्ध र अझै पनि उच्च माध्यमिक विद्यालय (हाई स्कुल) मा अध्ययनरत सदस्यहरूले क्लबमा आबद्ध हुनुको आफ्नो अनुभव र उद्देश्य साझा गरे । सहभागी सबै सदस्यहरू वातावरण र जलवायु परिवर्तनको क्षेत्रमा संलग्न थिए र उनीहरूले आफ्नो सामूहिक प्रयासले शून्य खुद कार्बन उत्सर्जन हासिल गर्न योगदान पुग्ने आशा व्यक्त गरे।
नेपाल फोरम आयोजना गर्नका लागि स्वावलम्बन विकास केन्द्र का अध्यक्ष श्री शङ्करमान श्रेष्ठको अध्यक्षतामा चौध सदस्यीय सामाजिक व्यवसाय सम्मेलन आयोजक समिति गठन गरिएको छ। फोरमले ९ बुँदे कार्ययोजना पारित गरेको छ। उक्त कार्ययोजना युवा रोजगारी, इको–भिलेज र सबैका लागि स्वास्थ्य सेवामा केन्द्रित छ। नेपाल कन्ट्री फोरममा सरकारी निकाय, नेपाल राष्ट्र बैंक, लघुवित्त संस्था, सहकारी र गैरसरकारी संस्थाहरू लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाका करिब १०० जना अधिकारीहरूको सहभागिता रहेको थियो।
अर्थ चाैतारी ।