logo

२०८३ जेष्ठ १८, सोमबार

logo
  • २०८३ जेष्ठ १८, सोमबार
  • विवादमा त्रिविका उपकुलपतिको रोष्टर : बौद्धिक चोरीका आरोपीदेखि विदेशी नागरिकसम्म समावेश

    विवादमा त्रिविका उपकुलपतिको रोष्टर : बौद्धिक चोरीका आरोपीदेखि विदेशी नागरिकसम्म समावेश

    299
    SHARES
    विवादमा त्रिविका उपकुलपतिको रोष्टर : बौद्धिक चोरीका आरोपीदेखि विदेशी नागरिकसम्म समावेश

    काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिका लागि रोष्टरमा परेको व्यक्तिको सूची (रोस्टर) मा बौद्धिक चोरीमा परेकादेखि विदेशी नागरिकता लिएको व्यक्ति समेत रहेको पाइएको छ । केही दिनअघि मात्र शिक्षा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गरेको ८ वटा विश्वविद्यालयमा उपकुलपतिका लागि योग्य सूचीमा परेका डा.केदारनाथ घिमिरे र डा.दुर्गादत्त पौडेलमा यो कैफियत देखिएको हो । यसले विश्वविद्यालयको नेतृत्व चयनको प्रक्रियाबारे गम्भीर बहस समेत सिर्जना गरेको छ ।



    बौद्धिक चोरीमा परेका थिए केदारनाथ घिमिरे

    मन्त्रालयले सार्वजनिक गरेको सूचीमध्ये त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि योग्य उम्मेदवारको सूचीमा उल्लेख गरिएका त्रिविका रसायनशास्त्रका पूर्व प्राध्यापक डा.केदारनाथ घिमिरे बौद्धिक चोरीको विवादमा मुछिएका थिए । उनी त्रिविको रोष्टरमा नवौँ नम्बर र पोखराको रोष्टरमा ११ औँ नम्बरमा समावेश छन् ।

    उनले प्रकाशित गरेको ‘युनिभर्सिटी एक्सपेरिमेन्टल फिजिकल केमिस्ट्री’ नामक पुस्तकमा भारतीय लेखकहरू जे.एन. गुर्तु, आर. कपुर र जे.यादवको पुस्तकबाट स्रोत उल्लेख नगरी हुबहु सारिएको प्रमाणित भइसकेको छ। प्रा.डा. राजाराम प्रधानांगको संयोजकत्वमा गठित छानबिन समितिले बौद्धिक चोरीको ठहर गर्दै तत्कालीन डिन कार्यालयमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रतिवेदन पठाइसकेको थियो।

    डा.घिमिरेको विवाद यतिमै सीमित छैन। विश्वविद्यालय अनुदान आयोग (युजीसी) ले उनलाई बौद्धिक चोरीकै कारण अनुसन्धान कार्यमा अयोग्य ठहर गर्दै कालोसूचीमा समेत राखिसकेको छ। डा.घिमिरेसहित त्रिवि रसायनशास्त्र केन्द्रीय विभागका अन्य प्राध्यापकहरू मेघराज पोखरेल र देवबहादुर खड्काले मिलेर राज्यको १० लाख रुपैयाँ अनुदान हात पार्ने उद्देश्यले केमिकल मोडिफिकेसन अफ नेचुरल पोलिमर्स एन्ड देयर एप्लिकेसन इन वेस्ट–ड्रिंकिङ वाटर नामक अनुसन्धान पत्र अनुदान आयोगमा पेस गरेका थिए।

    नास्टका पूर्वसचिवसमेत रहेका प्रा.कृष्णबहादुर मानन्धरको नेतृत्वमा रहेको आयोगको मूल्याङ्कन समितिले उक्त अनुसन्धान पत्र उनीहरूले नै केही वर्षअघि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा बुझाएको पुरानै कामको हुबहु नक्कल भएको पत्ता लगाएको थियो। प्राज्ञिक बेइमानीको आरोप लागेपछि उनीहरूले स्पष्टीकरणसमेत दिन सकेनन् । त्यसपछि अनुदान आयोगले उनीहरूलाई भविष्यमा कुनै पनि अनुसन्धानमा भाग लिन नपाउने गरी अयोग्य घोषित गरेको थियो।

    प्राज्ञिक मूल्यमान्यता र व्यावसायिक नैतिकताको गम्भीर उल्लङ्घन गरेका उनीहरूले त्यतिबेलासम्म अनुदान रकमको आधा हिस्सा भने लिइसकेका थिए। यस्तो गम्भीर नैतिक पतन भएका र कालोसूचीमा परेका व्यक्तिलाई शिक्षा मन्त्रालयले उपकुलपतिको रोष्टरमा राखेको छ।

     

    दुर्गादत्त पौडेलमाथि विदेशी नागरिकता धारण गरेको आरोप

    त्यस्तै, त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा मात्र उम्मेदवारी दिएका अर्का उम्मेदवार डा.दुर्गादत्त पौडेलको नागरिकतामाथि पनि प्रश्न उठेको छ। उनी करिब ३० वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका छन् । युनिभर्सिटी अफ लुइजियाना एट लाफायेटका कृषि विज्ञ तथा पूर्व प्राध्यापक पौडेलले अमेरिकी नागरिकता लिइसकेको तर नेपालको नागरिकता औपचारिक रूपमा नत्यागेको उनका निकटस्थहरूको दाबी छ।

    त्रिभुवन विश्वविद्यालय ऐनले उपकुलपति हुन नेपाली नागरिक नै हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छैन । पछिल्लो पटक विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा कुनै पनि विषयमा विद्यावारिधि हासिल गरी १० वर्ष अनुभव हासिल गरेको हुनुपर्ने उल्लेख छ ।

    तर, कानुनमा तोकिएको अवस्थामा बाहेक सामान्यतया सार्वजनिक पदाधिकारीको नियुक्ति नेपाली नागरिकलाई नै गर्ने चलन छ । तर, अमेरिकी नागरिकता लिएका उनलाई समेत योग्य क्लस्टरमा समावेश गरिएको भन्दै प्राध्यापकहरूले विरोध गरिरहेका छन् ।


    अर्थ चाैतारी
  • सोमबार, १८ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट