काठमाण्डौ । नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले सार्वजनिक–निजी साझेदारी मोडेलअन्तर्गत वेस्ट सेती ४०० केभी प्रसारण लाइन आयोजना कार्यान्वयन प्रक्रिया अघि बढाएको छ।
आयोजनाको विकास तथा सञ्चालनका लागि ‘वेस्ट सेती ट्रान्समिसन लिमिटेड’ नामक विशेष प्रयोजन कम्पनी स्थापना गरिएको हो। यससम्बन्धी सोमबार सम्झौता गरिएको हो। कम्पनीले पश्चिम नेपालमा उत्पादित हुने जलविद्युत् ऊर्जाको प्रसारण तथा निकासी सुनिश्चित गर्न करिब १४५ किलोमिटर लम्बाइको ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गर्नेछ ।
उक्त प्रसारणलाइनले बझाङको चैनपुरस्थित १६० एमभीए ४००/१३२ केभी सबस्टेसन, डोटीको बनलेकस्थित ३१५ एमभीए ४००/१३२ केभी सबस्टेसन तथा कैलालीको दोधारास्थित निर्माणाधीन सबस्टेसनलाई जोड्नेछ।
आयोजनामार्फत पश्चिम नेपालका विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्ने तथा विद्युत् निर्यातका लागि आवश्यक पूर्वाधार विकास गरिने बताइएको छ।
अर्थ चाैतारी ।