काठमाण्डौ । एलन मस्कको कम्पनी स्टारलिंक नेपाल भित्रिन आतुर देखिएको छ। सोमबार स्टारलिंककी निर्देशक रेबिका स्लिक हन्टरले सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग मन्त्रालयमा भेटवार्ता गर्दै नेपालमा इन्टरनेट सेवा सञ्चालनका लागि इच्छुक रहेको बताएकी हुन्।
स्टारलिंक स्याटेलाइट प्रविधिमा आधारित इन्टरनेट सेवा प्रदायक अन्तर्राष्ट्रिय कम्पनी हो। भेटमा हन्टरले स्टारलिंकले नेपालमा इन्टरनेट सेवा सञ्चालनका लागि अनुमति लिन चाहेको तर केही नीतिगत तथा कानुनी जटिलताका कारण अनुमति पाउन नसकेको बताइन्। उनले लाइसेन्समा शतप्रतिशत स्टारलिंककै स्वामित्व भएमात्र अनुमति लिन सकिने धारणा उनले राखेकी थिइन्। साथै व्यावसायिक साझेदारी तथा सहकार्यका लागि नेपालका केही सेवा प्रदायकहरूसँग पनि छलफल भइरहेको उनले सञ्चारमन्त्रीलाई जानकारी दिइन्।
भेटमा सञ्चारमन्त्री तिमिल्सिनाले नेपालको विद्यमान दूरसञ्चार नीति तथा कानुनी व्यवस्थाअनुसार वैधानिक प्रक्रियाअनुरूप सेवा सञ्चालन गर्न कुनै अवरोध नहुने बताए। स्टारलिंकका प्रतिनिधिले यसअघि पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, सञ्चार मन्त्रालयदेखि नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीसँग पटकपटक भेटेर स्टारलिंकको सेवा नेपालमा भित्र्याउन अनेक प्रयास गरेका थिए।
२०८१ कात्तिकमा स्टारलिंकका अधिकारीले ओली, तत्कालीन सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलगायतलाई ‘डेमो’ नै प्रस्तुत गरेको थियो। त्यसको एक महिना २०८१ मंसिरमा ओली र एलन मस्कबीच भर्चुअल संवादसमेत भएको थियो। त्यतिबेला पनि मस्कले नेपालमा स्टारलिंकमार्फत व्यवसाय गर्न आफू इच्छुक रहेको बताएका थिए।
हुन त नेपाली भूभागमा अनुमतिबेगरनै स्टारलिंकको इन्टरनेट सञ्चालन भइरहेको तथ्य नयाँ होइन। नियामक नेपाल दूरसञ्चार प्राधिकरणले हिमाल आरोहण गराउने कम्पनीहरूले अग्ला हिमालहरुको आधार शिविरमा स्टारलिंक इन्टरनेट अवैधरूपमा सञ्चालन गरेको भन्दै दर्ताबिना सेवा उपलब्ध नगराउन चेतावनी दिँदै पटकपटक सार्वजनिक सूचना निकाल्ने गरेको छ।
अर्थ चाैतारी ।