काठमाण्डौ । नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट सञ्चालित हुने परियोजना र स्रोत दुवै घटेको पाइएको छ।
सरकारी तथ्यांकअनुसार पछिल्लो चार वर्षयता नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट चल्ने परियोजनाको संख्या दुई तिहाईले र त्यसबाट आउने बजेट पनि आधा नै घटेको पाइएको छ। बिहीबार ललितपुरमा आयोजित विकास बहस सम्बन्धी कार्यक्रममा बोल्दै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी सचिव राधिका अर्यालले बजेट घटेको बताइन्।
‘पछिल्लो केही वर्षको तथ्यांक हेर्दा नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट आउने स्रोत र परियोजना दुवै घटेको देखिन्छ,’ उनले भनिन्, ‘अहिले चालु आर्थिक वर्षको नै ट्रेन हेर्ने हो भने पनि यो परियोजनाको संख्या र परियोजनाबाट आउने स्रोत घटने नै आकलन गर्न सकिन्छ।’ सचिव अर्यालका अनुसार, आर्थिक वर्ष २०७८/७९ मा ९८ वटा परियोजना र त्यसबाट आउने बजेट ४० अर्ब रहेको थियो भने त्यसयता परियोजना र स्रोत दुवै हरेक वर्ष घटदै गएको छ। मन्त्रालयले चालु आर्थिक वर्षमा पनि त्यस्ता परियोजना र स्रोत घटना आकलन गरेको छ।
‘पछिल्लो चार वर्षको तथ्यांक हेर्दा आर्थिक वर्ष २०७८/७९ मा ९८ परियोजना र ती परियोजनामार्फत ४० अर्ब रकम नेपालमा आएको थियो भने पछिल्लो आर्थिक वर्ष २०८१/८२ मा हेर्दा परियोजनाको संख्या दुई तिहाईले घटेको छ र स्रोत पनि आधा नै घटेको अवस्था छ,’ अर्यालले भनिन्। सचिव अर्यालले विश्वव्यापी रुपमा आएको आर्थिक संकट, नेपाल एलडीसीबाट ग्रयाजुयट हुने सन्दर्भले पारेको प्रभाव कारण पनि नेपालमा यस्ता परियोजना र त्यसबाट आउने बजेट घटदै गएको हुनसक्ने बताइन्।
‘यसमा विविध कारणहरू हुनसक्छ। ग्लोबल इकोनोमिक क्राइसेस, ग्लोबल पोलिसी सिफ्ट हुनसक्छ। अथवा नेपालको आफ्नै इन्टरनल कन्फिडेन्सी बढेको अथवा नेपाल एलडीसीबाट ग्रयाजुयट हुने सन्दर्भले पनि यसलाई प्रभाव पारेको हुन सक्छ। यसको अतिरिक्त अरु कारणहरु पनि हुन सक्छ,’ उनले भने।
सचिव अर्यालले नेपालमा गैरसरकारी संस्थाहरूलाई कडाईका साथ अनुगमन गर्नुपर्ने अवस्था रहेको पनि बताइन्।
अर्थ चाैतारी ।