logo

२०८३ जेष्ठ २५, सोमबार

logo
  • २०८३ जेष्ठ २५, सोमबार
  • स्वास्थ्य सेवा सुदृढीकरणका लागि नबिल बैंक र धुलिखेल अस्पतालबीच ६ करोडको साझेदारी

    स्वास्थ्य सेवा सुदृढीकरणका लागि नबिल बैंक र धुलिखेल अस्पतालबीच ६ करोडको साझेदारी

    273
    SHARES
    स्वास्थ्य सेवा सुदृढीकरणका लागि नबिल बैंक र धुलिखेल अस्पतालबीच ६ करोडको साझेदारी

    काठमाण्डौ । नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य सेवा सुदृढीकरण एवं पुनःस्थापनाका लागि रणनीतिक साझेदारी भएको छ । विशेष गरी नेपालमा जलन (बर्न) को उपचार, पुनःस्थापना र डायलासिस सेवाको पहुँच विस्तार तथा गुणस्तरीय स्वास्थ्य सेवाको आवश्यकतालाई मनन गर्दै सोमबार दुई संस्थाबीच आशयपत्रमा हस्ताक्षर भएको हो ।



    सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवाली र धुलिखेल अस्पतालका प्रशासनिक निर्देशक डा. विराजमान कर्माचार्यले हस्ताक्षर गरेका छन् । आगामी तीन वर्षका लागि गरिएको यस रणनीतिक साझेदारीअन्तर्गत नबिल बैंकले धुलिखेल अस्पताललाई ६ करोड रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ ।

    सम्झौताअनुसार धुलिखेल अस्पतालमा १० शय्याको सघन जलन उपचार कक्ष (बर्न आईसीयू) स्थापना गरिनेछ र अस्पताल व्यवस्थापनको नेतृत्वमा अन्य प्रदेशहरूमा पनि यस्तै सुविधाहरू विस्तार गरिनेछ । यसका साथै बैंकले दुई वटा कृत्रिम अंग जडान तथा पुनःस्थापना सेवा एकाइहरू स्थापना गर्न र डायलासिस सेवाहरूलाई थप सुदृढ बनाउन पनि वित्तीय सहयोग उपलब्ध गराएको हो । यो सहकार्यले समग्र मुलुक र विशेष गरी आर्थिक रूपमा विपन्न तथा सीमान्तकृत समुदायका बिरामीहरूलाई ठूलो राहत पुग्ने विश्वास दुवै पक्षले लिएका छन् ।

    नबिल बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले मानिसको जीवनमा सार्थक परिवर्तन ल्याउने विषयमा बैंक र अस्पतालको उद्देश्य मिलेकाले यस सहकार्यले सार्थकता पाउने विश्वास व्यक्त गरे । सामाजिक उत्तरदायित्वअन्तर्गत काम गर्दा जहिले पनि कति जनाको जीवनमा सकारात्मक प्रभाव पार्न सकियो भन्ने मानक बैंकले राख्ने गरेको उल्लेख गर्दै अध्यक्ष चौधरीले धुलिखेल अस्पतालसँग मिलेर धेरै मानिसको जीवन सहज बनाउन सकिने बताए । त्यस्तै, सीईओ ज्ञवालीले नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई दायित्व मात्र नभई समाजप्रतिको प्रतिबद्धताको रूपमा लिएको स्पष्ट पार्दै सुरु गरिएको काममा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाए ।

    धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. रामकण्ठ माकजु श्रेष्ठले अस्पतालले स्थापनाकालदेखि नै समुदायलाई गुणस्तरीय र सुलभ चिकित्सा सेवा प्रदान गर्दै आएको उल्लेख गरे । धुलिखेल अस्पताल समुदायमा आधारित अस्पताल भएकाले नबिल बैंकसँगको यो साझेदारीले जलन, कृत्रिम अंगसम्बन्धी उपचार, पुनःस्थापना र डायलासिस सेवालाई थप सुदृढ र जनमुखी बनाउन मद्दत पुग्ने उनको भनाइ थियो । यो सहकार्य सरकारले देशभरका बिरामीहरूलाई सुलभ र पहुँचयोग्य उपचार सुनिश्चित गर्ने भनी लिएको राष्ट्रिय लक्ष्यसँग पनि मेल खाने बैंकले जनाएको छ ।

    अग्रणी वाणिज्य बैंकको रूपमा रहेको नबिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि सुदूरपश्चिम, कर्णाली, मधेश र लुम्बिनी प्रदेशमा जलनका बिरामीहरूका लागि निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गरिसकेको छ । उक्त शिविरबाट ५०० जना बिरामीले निःशुल्क उपचार र १३० जनाले निःशुल्क शल्यक्रिया सेवा पाएका थिए । यसका साथै बैंकले नवलपरासी (सुस्ता पूर्व) को प्रादेशिक अस्पताल र बर्दघाटको चिसापानी अस्पतालमा रहेका कृत्रिम अंग केन्द्रहरूलाई पनि सहयोग गर्दै आएको छ, जहाँबाट हालसम्म ३०० भन्दा बढी लाभग्राहीले निःशुल्क कृत्रिम अंग प्राप्त गरिसकेका छन् ।


    अर्थ चाैतारी
  • सोमबार, २५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट