काठमाण्डौ । विद्युत् नियमन आयोगका अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समितिले उम्मेदवारहरुलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको छ।
गत जेठ ७ को सूचनाअनुसार आयोगको सदस्य पदमा दरखास्त दिएका उम्मेदवारहरुमध्ये आवश्यक न्यूनतम शैक्षिक योग्यता र कार्य अनुभव पूरा गरेका र व्यावसायिक कार्ययोजनाको मूल्यांकनमा ५० प्रतिशत वा सोभन्दा बढी अंक प्राप्त गरेकाहरुलाई अन्तर्वार्ताका लागि बोलाएको हो।
यसअनुसार उदयपुरका निरज्वल बस्नेत, काठमाण्डौका रुद्र प्रसाद सिटौला, काठमाण्डौकै जयराज भण्डारी र लोकराज पाठक तथा धादिङका बलराम सिलवाललाई असार ८ गते बिहान ९ बजे ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिव बैठक कक्षमा बोलाइएको छ।
सोही दिन दिउँसो २ बजे काठमाडौंका विज्ञा श्रेष्ठ, भक्तपुरका अर्जुन कुमार गौतम, काठमाण्डौकै नरेन्द्र सिंह भण्डारी र चितवनका नारायणप्रसाद सापकोटालाई सोही स्थानमा बोलाइएको छ।
उनीहरुले आआफ्ना व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता दिनेछन्। कार्ययोजना प्रस्तुतीकरणको अवधि अधिकतम १५ मिनेट रहनेछ। उक्त उम्मेदवारहरुलाई दरखास्तसँगै पेस गरेका प्रमाणपत्र तथा कागजातहरु सक्कलै लिएर आउन भनिएको छ।
अर्थ चाैतारी ।