logo

२०८३ असार ७, आइतबार

logo
  • २०८३ असार ७, आइतबार
  • निराशालाई आशा र आक्रोशलाई निर्माणमा बदल्न रास्वपाको जन्म : डा. स्वर्णिम वाग्ले

    निराशालाई आशा र आक्रोशलाई निर्माणमा बदल्न रास्वपाको जन्म : डा. स्वर्णिम वाग्ले

    26
    SHARES
    निराशालाई आशा र आक्रोशलाई निर्माणमा बदल्न रास्वपाको जन्म : डा. स्वर्णिम वाग्ले

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपा केवल नागरिक आक्रोश र विद्रोहको अभिव्यक्ति मात्र नभएर देश निर्माणको स्पष्ट विकल्प र संस्थागत राजनीतिक शक्ति भएको दाबी गरेका छन् । पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन तथा चौथो वार्षिकोत्सवका अवसरमा शनिबार चितवनमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उपसभापति वाग्लेले नेपालको वर्तमान संकट स्रोत वा सम्भावनाको अभाव नभई गलत राजनीतिक तथा आर्थिक ‘प्रोत्साहन संरचना’ (Incentive Structure) का कारण उब्जिएको बताए ।



    राजनीतिमा इमानदार मानिसलाई प्रवेश गर्न कठिन तर पहुँचवालालाई सफल हुन सजिलो हुने प्रणाली विकास भएको भन्दै उनले चिन्ता व्यक्त गरे । “व्यवसायमा पनि नवप्रवर्तन गर्नेलाई भन्दा शक्ति केन्द्रसँग निकट हुनेलाई सजिलो हुने व्यवस्था बन्यो, हामी यो गलत संस्कार बदल्न आएका हौँ,” वाग्लेले भने, “हामी पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौँ । त्यसैले रास्वपाको शक्ति आक्रोश मात्र होइन, आशा हुनुपर्छ । आलोचना मात्र होइन, विकल्प दिनुपर्छ ।”

    सम्बोधनका क्रममा डा. वाग्लेले रास्वपाको उद्देश्य केवल सरकार फेर्ने अभियानमा मात्र सीमित नरही समग्र राजनीतिक संस्कार परिवर्तन गर्नु रहेको प्रष्ट पारे । उनले अब देशलाई भागबन्डाको राजनीतिबाट मुक्त गर्दै ‘मेरिटोक्रेसी’ (योग्यता प्रणाली) र नियममा आधारित शासनतर्फ लैजानुपर्नेमा जोड दिए । विगतका राजनीतिक आन्दोलनले ल्याएका लोकतन्त्र, संविधान र समावेशिता जस्ता उपलब्धिहरूको सम्मान गर्दै उनले निर्वाचन धेरै भए पनि उत्तरदायित्व कमजोर रहेको र राज्यको क्षमता र सार्वजनिक सेवाको गुणस्तर बढाउन नसकिएको टिप्पणी गरे ।

    रास्वपा अब आन्दोलनको चरणबाट गुज्रिएर संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण भइरहेको उद्घोष गर्दै वाग्लेले नयाँ पुस्ताले केवल प्रश्न सोध्न र विरोध गर्न मात्र नभई देशको शासन चलाउन र ठोस परिणाम दिन पनि सक्छ भन्ने कुरा प्रमाणित गरेर देखाउने दाबी गरे । रास्वपाले कानुनको शासन भएको उदार लोकतन्त्र, पहुँचको आधारमा नभई उद्यमशीलता र क्षमताका आधारमा चल्ने प्रतिस्पर्धी अर्थतन्त्र, र युवाहरूलाई देशभित्रै मर्यादित रोजगारी सुनिश्चित गर्ने भरोसायोग्य राज्यको परिकल्पना गरेको उनको भनाइ थियो ।

    चितवनबाट सुरु भएको यो ऐतिहासिक महाधिवेशनलाई नेपालको राजनीतिक पुनर्जागरणको प्रारम्भिक बिन्दु भन्दै उपसभापति वाग्लेले सम्पूर्ण नेपाली नागरिकलाई निराशालाई आशामा, आक्रोशलाई निर्माणमा र विद्रोहलाई रूपान्तरणमा बदल्ने यस महाअभियानमा जोडिन आह्वान गरे ।


    अर्थ चाैतारी
  • आइतबार, ७ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट