काठमाण्डौ । काठमाण्डौ उपत्यकाको सार्वजनिक यातायातलाई आधुनिक र व्यवस्थित बनाउने उद्देश्यका साथ शशिला मोटर्स प्रालिले १८ मिटर लामो ‘आर्टिकुलेटेड’ (दुईवटा बस जोडिएजस्तो देखिने) विद्युतीय बस भित्र्याउने तयारी सुरु गरेको छ । चीनको प्रसिद्ध ‘फेन्सर’ कम्पनीले उत्पादन गरेको यो बस नेपालको बढ्दो सहरी जाम र सार्वजनिक यातायातको समस्या समाधानका लागि कोसेढुंगा सावित हुने विश्वास गरिएको छ ।
शशिला मोटर्सका सेल्स हेड सुरेन्द्र रोकायाका अनुसार यो बस हाल सञ्चालनमा रहेका बसभन्दा निकै ठूलो र सुविधायुक्त छ । १८ मिटर लम्बाइ भएको यो आर्टिकुलेटेड बसमा ६४ वटा आरामदायी सिटहरू रहनेछन् ।उभिएर यात्रा गर्ने यात्रुसहित यसले एकैपटक २२० जनासम्मलाई गन्तव्यमा पुर्याउन सक्छ । यस बसमा ८०० किलोवाट आवरको शक्तिशाली ब्याट्री जडान गरिएको छ । लो-फ्लोर डिजाइन भएकाले वृद्धवृद्धा, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरू सजिलै चढ्न र ओर्लन सक्छन् । झट्ट हेर्दा रेल जस्तै देखिने यो बस बीचमा लचकदार हुने भएकाले मोडहरूमा सजिलै घुम्न सक्छ ।
एडीबीको प्रतिवेदन र सरकारी योजनाको साथ एसियाली विकास बैंक (एडीबी) को सहयोगमा सन् २०१४ मा तयार पारिएको ‘काठमाडौं दिगो सहरी यातायात आयोजना’ (केएसयूटीपी) को प्रतिवेदनले उपत्यकाका मुख्य (प्राथमिक) रुटहरूमा १२ देखि १८ मिटर लामा बसहरू चलाउन सुझाव दिएको छ । सोही सुझाव र हालै सरकारले बजेटमार्फत सार्वजनिक यातायात सुधारमा देखाएको चासोलाई मध्यनजर गर्दै शशिला मोटर्सले यो प्रक्रिया अगाडि बढाएको हो ।
शशिला मोटर्सका सेल्स हेड रोकाया भन्छन्, ‘हामी अहिले प्रोडक्ट प्लानिङ फेजमा छौं । यो बस तत्कालै ल्याएर सञ्चालन गरिहाल्ने भन्दा पनि आवश्यक पूर्वाधार र सरकारी तयारीलाई हेरिरहेका छौं । सरकारले रुट पर्मिट र डेडिकेटेड लेनको व्यवस्था गर्ने हो भने हामी यो बस ल्याउन पूर्ण रूपमा तयार छौं ।’
यद्यपि, यति ठूलो बस सञ्चालनका लागि केही चुनौतीहरू पनि छन् । १८ मिटर लामो गाडीका लागि पर्याप्त पार्किङ स्पेस, ८०० किलोवाटको ब्याट्री चार्ज गर्ने पूर्वाधार र उपयुक्त सडक कन्डिसन आवश्यक पर्छ । हाल यो बस उपत्यकाको चक्रपथ (एयरपोर्टदेखि कलंकीसम्म) सजिलै सञ्चालन गर्न सकिने बताइएको छ ।
यो बस निकै महँगो समेत छ । अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य करिब ३ लाख अमेरिकी डलर रहेको छ । नेपाल ल्याउँदा भन्सार र अन्य करका कारण यसको लागत ६ करोड रुपैयाँभन्दा माथि पर्ने कम्पनीले जनाएको छ ।
अर्थ चाैतारी ।