काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच मन्त्री वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई शपथ गराएका हुन् । गत असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।
शपथ ग्रहण लगत्तै अर्थमन्त्री वाग्लेले पुँजी बजारका लगानीकर्ताको लगानी सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त अध्यक्षलाई कडा निर्देशन दिएका छन् । उनले कुनै पनि प्रकारको लोभ, प्रलोभन र प्रभावबाट टाढा रहेर नियमनकारी भूमिका निर्वाह गर्न आग्रह गरे ।
“कुनै पनि लोभ र प्रभावमा नपरी पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा गर्नुहोस्, म साथमा छु र सरकारले सबै खाले सहयोग गर्छ,” अर्थमन्त्री वाग्लेले भने, “पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको बाटो समात्ने वातावरण बनाउनुहोस् ।”
मन्त्री वाग्लेले बजार सुधारका लागि तत्काल ठोस कार्य योजना माग गर्दै दैनिक, साप्ताहिक, मासिक, छ महिना र एक वर्षको कार्य तालिका पेस गर्न समेत निर्देशन दिए । बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाझ त्रास सिर्जना भइरहेको प्रति संकेत गर्दै उनले हल्लाको पछि नलागी बजारको ‘कन्फिडेन्स’ बढाउन र धेरै बोलेर भन्दा पनि काम र नतिजाबाट प्रमाणित गर्न बोर्ड नेतृत्वलाई सचेत गराए ।
मन्त्रालयका तर्फबाट बोर्डको स्वायत्ततामा कुनै हस्तक्षेप नहुने स्पष्ट पार्दै मन्त्री वाग्लेले आफूलाई बजारको अवस्थाबारे प्रत्येक हप्ता ब्रिफिङ चाहिने उल्लेख गरे ।
कार्यक्रममा नवनियुक्त अध्यक्ष डा. भट्टले सरकार र अर्थमन्त्रीको योजना अनुरूप पुँजी बजारको विकासमा पूर्ण प्रतिबद्धताका साथ काम गर्ने बताए । आफ्नो ज्ञान, अनुभव र सिपलाई लगानीकर्ताको हित र देशको आर्थिक वृद्धिको लक्ष्यलाई सघाउने गरी प्रयोग गर्ने उनको भनाइ थियो । अध्यक्ष भट्टले पुँजी बजार सुधारका लागि विभिन्न समयमा भएका अध्ययन तथा सिफारिसहरूलाई क्रमशः कार्यान्वयनमा लैजाने प्रतिबद्धता समेत व्यक्त गरे ।