काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत बाजुराको दुर्गम हिमाली क्षेत्रमा रहेका ६ वटा सामुदायिक माध्यमिक विद्यालयहरूलाई स्मार्ट टेलिभिजन सहयोग गरेको छ। गौमुल गाउँपालिकासँगको समन्वयमा बैंकको गौमुल शाखाले ग्रामीण तथा दुर्गम भेगका विद्यार्थीहरूमा डिजिटल शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले ती सामग्री हस्तान्तरण गरेको हो। भौगोलिक कठिनाइका कारण आधुनिक शैक्षिक स्रोत–साधनको पहुँच सीमित रहेको गौमुल क्षेत्रमा यस सहयोगले शिक्षण प्रक्रियालाई थप रोचक र प्रभावकारी बनाउने बैंकले अपेक्षा गरेको छ।
यस सहयोगबाट गौमुल गाउँपालिकाभित्रका श्री मानाकोट माध्यमिक विद्यालय (वडा नं. ५), श्री जनज्योति माध्यमिक विद्यालय (वडा नं. २), श्री अम्लिश माध्यमिक विद्यालय (वडा नं. १), श्री फूलपाता माध्यमिक विद्यालय (वडा नं. २), श्री किर्तिचौर माध्यमिक विद्यालय (वडा नं. ६) र श्री बालविकास माध्यमिक विद्यालय (वडा नं. ३) लाभान्वित भएका छन्। उपलब्ध गराइएको स्मार्ट टेलिभिजनमार्फत विद्यार्थीहरूलाई डिजिटल सामग्री र श्रव्य–दृश्य (अडियो-भिजुअल) माध्यमबाट अध्यापन गराउन सहज हुने र यसले सहरी तथा ग्रामीण क्षेत्रबीच रहेको शैक्षिक अवसरको असमानता न्यूनीकरण गर्न मद्दत पुग्ने बैंकको विश्वास छ।
“समुदायका लागि कुमारी बैंक” भन्ने मूल नारासहित बैंकले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता र वातावरण संरक्षणका क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। विगत २५ वर्षदेखि बैंकिङ सेवा दिइरहेको कुमारी बैंकले हाल देशभर २८६ शाखा, ३०४ एटीएम, ४१ वटा विस्तारित काउन्टर र ४० शाखारहित बैंकिङ एकाइहरू मार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ।
अर्थ चाैतारी ।