काठमाण्डौ । निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को विभेदकारी कदमका कारण आफूलाई ठूलो आर्थिक नोक्सानी पुगेको भन्दै कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ। ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ (आफ्ना जहाजको भूमिस्थ व्यवस्थापन) का सम्बन्धमा सर्वोच्च अदालतले पक्षमा आदेश दिए पनि क्यानले काम अघि बढाउन असहयोग गर्दा साढे ३ अर्ब रुपैयाँ हाराहारीको नोक्सानी भएको कम्पनीको दाबी छ। यो समस्या ७ दिनभित्र समाधान नभए कानुनी उपचार खोज्ने चेतावनीसहित हिमालयले क्यानका महानिर्देशकलाई पत्र पठाएको छ।
हिमालय एयरलाइन्सले सन् २०२० (वि.सं. २०७७) मै सेल्फ ग्राउन्ड ह्यान्डलिङको अनुमति पाएको थियो। तर, पछि क्यानले उक्त सेवा नवीकरण गर्न नमानेपछि कम्पनी २०८१ सालमा सर्वोच्च अदालत पुगेको थियो। सर्वोच्चले परमादेश जारी गरेपछि क्यानले अनुमति नवीकरण त गर्यो, तर हालसम्म कर्मचारीहरूलाई आवश्यक पर्ने विमानस्थल प्रवेश पास (एयरपोर्ट इन्ट्री पास) उपलब्ध नगराउँदा काम अघि बढाउन नसकिएको एयरलाइन्सले जनाएको छ।
अनुमति पाएर पनि काम गर्न नपाउँदा ग्राउन्ड ह्यान्डलिङबापत मात्रै नेपाल वायुसेवा निगमलाई ३ अर्ब ४६ करोड ४६ लाख ५७ हजार ३८० रुपैयाँ भुक्तानी गरिसकिएको कम्पनीले उल्लेख गरेको छ। यसका साथै सेल्फ ग्राउन्ड ह्यान्डलिङकै लागि करोडौँ मूल्यका उपकरण खरिद गरिएको र सयौँ कर्मचारीलाई तालिमसमेत दिइसकेको एयरलाइन्सले जनाएको छ। आवश्यक कर्मचारीलाई विमानस्थल प्रवेश पास नदिएर क्यानले विदेशी लगानीको कम्पनीमाथि अनुचित व्यवहार गरेको र औद्योगिक व्यवसाय ऐन, २०७६ विपरीत विभेदकारी नीति लिएको हिमालयको आरोप छ।
हिमालय एयरलाइन्सले पत्र प्राप्त भएको ७ दिनभित्र आफ्ना कर्मचारीलाई विमानस्थल प्रवेश पास उपलब्ध गराई सेवा सञ्चालनको वातावरण तयार पार्न क्यानलाई अल्टिमेटम दिएको छ। तोकिएको समयभित्र माग पूरा नभए हालसम्म ग्राउन्ड ह्यान्डलिङबापत बुझाउनुपरेको ३ अर्ब ४६ करोड ४६ लाख ५७ हजार ३८० रुपैयाँ ८ पैसा क्षतिपूर्ति दाबी गर्दै कानुनी कारबाही अगाडि बढाउने कम्पनीले स्पष्ट पारेको छ।
अर्थ चाैतारी ।