काठमाण्डौ । थोक कर्जा प्रदायक आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म १३ करोड ८२ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा १० करोड १८ लाख २३ हजार रुपैयाँ नाफा कमाएको संस्थाले समीक्षा वर्षमा आफ्नो खुद नाफा ३५.७६ प्रतिशतले बढाउन सफल भएको हो।
खुद नाफामा आएको सुधारसँगै संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ९.८५ रुपैयाँबाट वृद्धि भई १३.३७ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ पनि १२५.७८ रुपैयाँबाट बढेर १३१.०७ रुपैयाँ कायम भएको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको व्यावसायिक आकार र सञ्चालन आम्दानीमा भने केही संकुचन आएको छ। संस्थाको खुद ब्याज आम्दानी २२ करोड ३७ लाख रुपैयाँबाट १४.३९ प्रतिशतले घटेर १९ करोड १५ लाख रुपैयाँमा झरेको छ।
यसैगरी सम्भावित कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) बापत संस्थाले ५ करोड ५८ लाख रुपैयाँ छुट्याएको छ। अघिल्लो वर्ष सोही अवधिमा २ करोड ६८ लाख रुपैयाँको प्रोभिजन रिभर्सल भएकामा यस वर्ष नोक्सानी व्यवस्था बढाउनुपर्दा संस्थाको खुद सञ्चालन आम्दानीमा दबाब परेको भए पनि समग्र खर्च व्यवस्थापनका कारण नाफा उकास्न मद्दत पुगेको देखिन्छ।
ब्यालेन्स सिटको संरचना हेर्दा समीक्षा वर्षमा लघुवित्तको कुल सम्पत्ति र कर्जा लगानी दुवै घटेका छन्। संस्थाको कुल सम्पत्ति ८ अर्ब १७ करोड ९९ लाख रुपैयाँबाट घटेर ५ अर्ब ६६ करोड ८५ लाख रुपैयाँमा झरेको छ भने कर्जा प्रवाह पनि ६ अर्ब २७ करोड रुपैयाँबाट सीमित भई ४ अर्ब २४ करोड रुपैयाँमा आइपुगेको छ। यसैबीच, निष्कृय कर्जा (एनपीएल) अनुपात ३.३४ प्रतिशतबाट सामान्य बढेर ३.९२ प्रतिशत पुगेको छ। यद्यपि, खराब कर्जा एकल अंकमै सीमित रहेकाले संस्थाको सम्पत्तिको गुणस्तर तुलनात्मक रूपमा नियन्त्रणमै रहेको देखिन्छ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा आरएसडीसी लघुवित्तको कुल वितरणयोग्य नाफा ११ करोड ४१ लाख १९ हजार रुपैयाँ पुगेको छ। यस आधारमा संस्थाको प्रतिसेयर वितरणयोग्य नाफा १०.९७ रुपैयाँ कायम भएको छ, जसले सेयरधनीहरूलाई लाभांश दिन सक्ने क्षमता प्रस्तुत गर्दछ। समग्रमा, कर्जा पोर्टफोलियो घटेको र खराब कर्जा केही बढेको भए पनि प्रभावी लागत व्यवस्थापनका कारण आरएसडीसीले नाफा, ईपीएस र प्रतिसेयर नेटवर्थमा सकारात्मक सुधार दर्ता गराएको छ।
अर्थ चाैतारी ।