काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले बुधबार एक खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज सूचना जारी गर्दै ८३ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत एक खर्ब रुपैयाँ निक्षेप संकलन गर्न बोलकबोल आह्वान गरेको हो । बोलकबोल आज अपराह्न ३ः०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत हुनेछ भने निक्षेप संकलन उपकरणको निष्कासन पनि आजै गरिनेछ ।
सूचनाअनुसार निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ । साँवा तथा ब्याज २०८३ असोज २७ गते भुक्तानी गरिनेछ । बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि कुल आह्वान गरिएको रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । एउटै सहभागीले फरकफरक ब्याजदरमा एकभन्दा बढी बोल पनि पेश गर्न सक्नेछन् ।
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र बोलकबोलमा सहभागी हुन पाउनेछन् । आवेदनमा निक्षेप गर्न चाहेको रकम र दशमलवपछि चार अंकसम्मको ब्याजदर उल्लेख गर्नुपर्नेछ।
केन्द्रीय बैंकका अनुसार सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिँदै आह्वान गरिएको रकमसम्म बोल स्वीकृत गरिनेछ । समान ब्याजदरमा माग बढी भए ‘प्रो–राटा’ आधारमा बाँडफाँट गरिने व्यवस्था छ । सम्पूर्ण वा आंशिक बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिमा रहने सूचनामा जनाइएको छ ।
बैंकले निक्षेप संकलन उपकरणलाई लगानी पोर्टफोलियोका रूपमा गणना गरिने जनाएको छ । यसमा संकलित रकम अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न नपाइने भए पनि वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातमा भने गणना गर्न सकिने व्यवस्था गरिएको छ । साथै, परिपक्व अवधि पूरा हुनुअघि पूर्वभुक्तानी (प्रि–म्याच्योर) सुविधा नहुने स्पष्ट गरिएको छ ।
अर्थ चाैतारी ।