काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुले कुनै एउटा संस्थाले गरेको गल्तिलाई समग्र क्षेत्रलाई दोष दिन नमिल्ने बताएका छन् । आइतबार सम्पन्न भएको १६ औं वार्षिक साधारण सभामा बोल्दै सीईओहरुले यस्तो बताएका हुन् ।
नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले लघुवित्त संस्थाहरुलाई चुनौती थपिँदै गएको बताए । लघुवित्त संस्थालाई दिगो बनाउनु पर्ने बताउँदै उनले एउटा लघुवित्तले गरेको गल्तिलाई समग्र क्षेत्रलाई दोष दिन नमिल्ने बताए । ‘एकातिर मिटर ब्याजिलाई निमिट्यान्न पार्नु पर्ने चुनौती छ भने अर्कोतिर लघुवित्त खारेजी गर्नु पर्छ भन्नेलाई रोक्नुपर्नेछ, कुनै लघुवित्तले गल्ती गरेको छ भने राष्ट्र बैंकले कारवाही गरे हुन्छ तर, लघुवित्त क्षेत्रले गलत गरेको होइन,’ उनले भने, ‘गलत गर्ने संस्थालाई दण्ड दिनुस्, लघुवित्त क्षेत्रको बिकास गर्न सकारात्मक भूमिका खेल्नुपर्छ, बैंकसङ्ग लघुवित्त पनि जोडिएको हुँदा नेपाल बैंकर्स संघले पनि भूमिका निर्वाह गर्नुपर्छ ।’
नेपाल लघुवित्त बैंकर्स संघका कार्यकारी सदस्य तथा सिभिल लघुवित्तका सीईओ बिनोद आचार्यले लघुवित्त संस्थाहरुलाई आवश्यक पर्ने स्रोतको अभाव र उपलब्ध भइरहेको स्रोतको उच्च लागतका कारण व्यवसाय विस्तार गर्न नसकेको बताएका छन् । उनका अनुसार विगत लामो समयदेखि अनैतिक समूहले गरेको लघुवित्त विरुद्धको आन्दोलनले नै समग्र वित्तीय प्रणालीमा नै दीर्घकाल असर पार्ने गरी अवैधानिक गतिविधि गरेको छ । जसले गर्दा कर्जा असुलीमा सकस परेको र कर्जा विस्तारमा समेत ह्रास आएको उनले बताए ।
नेपाल लघुवित्त बैंकर्स संघका महासचिव तथा नेशनल माइक्रोफाइनान्स लघुवित्तका सीईओ राम बहादुर यादव लघुवित्त संस्थाहरुले अर्थतन्त्रको सफलताको लागि सर्वसुलभ वित्तीय सेवा सुविधा प्रदान गर्दै आएको बताउँछन् । ग्रामीण क्षेत्रको गरीबी न्यूनीकरण र रोजगारी प्रदान गर्न लघुवित्तको ठूलो भूमिका रहेको उनको भनाइ छ ।
‘अझैसम्म दुर्गम ठाउँमा लघुवित्त पुगेका छैनन्, लघुवित्त दिगो हुने कि नहुने भन्ने एकिन हुन सकेको छैन, लघुवित्तको लागत उच्च छ, दोस्रो त्रैमासको वित्तीय प्रतिवेदन ५० प्रतिशत लघुवित्त संस्था ऋणात्मक हुनेछन्,’ उनले भने, ‘लघुवित्तको पुनर्संरचना गर्न जरुरी छ, मापदण्ड अनुसार कर्जा प्रवाह गर्न सके सहज हुनेछ, लघुवित्तको ५० प्रतिशत कर्जा कृषिमा गएको छ, सामाजिक पर्फमेन्सको पनि वित्तीय विवरण सार्बजनिक गर्नु पर्छ ।’
नेपाल लघुवित्त बैकर्स संघका अध्यक्ष रामचन्द्र जोशीले लघुवित्त संस्थाहरु संकटमा परेको बेला राष्ट्र बैंकले कुनै पहल नचालेको भन्दै दुख ब्यक्त गरे । यदि राष्ट्र बैंकले समयमा नै लघुवित्तका पक्षमा बोलेको भए आन्दोलनले विकराल रुप नलिने उनको भनाइ छ । ‘राष्ट्र बैंकले समयमा आफ्नो बक्तब्य जारी गर्नु पथ्र्याे, रास्ट्र बैंकले बोल्ने कुरामा कन्जुस्याइँ गर्याे, यदि समयमा नै लघुवित्तको पक्षमा बोलेको भए सानातिना आन्दोलनले केही गर्न सक्दैन थियो,’ उनले भने ।
यस्तै, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले लघुवित्त र बैंकहरुबीच सहकार्य गरेर अघि बढ्नु पर्ने बताए । उनका अनुसार लघुवित्तको २५० अर्ब रुपैयाँ बैंकमा लगानी रहेको छ । ‘लघुवित्त र बैंकबीच सहकार्य जरुरी छ, अब जोखिमलाई नजिकबाट हेरेर लगानी गर्नुपर्छ, संस्थालाई घाटामा जान नदिन सबैले पहल चाल्नुपर्छ, लागत घटाउन आवस्यक छ, ब्याज नतिर्ने प्रवृत्तिलाई हटाउनुपर्छ, संस्था विरुद्धका आन्दोलनले भविष्यमा ठूलो असर गर्छ, यसलाई तत्काल हटाउनु पर्छ,’ उनले भने ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले लघुवित्त संस्थाहरुले समाजमा ठूलो राहत पुग्नेगरी योगदान गरेको बताए । पछिल्लो समय लघुवित्त विरुद्धको आन्दोलन हुनु दुखद रहेको उनको भनाइ छ । ‘राष्ट्र बैंकले आन्दोलन न्यूनीकरण गर्न पहल गरिरहेको छ, ऋण लिएर तिर्दैन भन्ने गतिविधि अराजकता हो, राष्ट्र बैंकले यसमा कडाइ गरेको छ,’ उनले भने । उनका अनुसार लघुवित्तको सुशासनमा ठूलो गिरावट आएको छ । लघुवित्तले क्रियाकलाप गर्दा सिद्धान्त पालना हुन नसकेको उनले बताए ।
‘अहिले लघुवित्त नाफामुखी भएका छन्, ७६ प्रतिशतसम्म लाभांश बाँड्नलाई कताबाट नाफा कमाए ? अधिकांश लघुवित्तको २० प्रतिशत लाभांश बाडेका छन्, लघुवित्त संस्थाहरु सेवामुखी हुन सकेनन्,’ उनले भने । यस्तै, राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुणाकर भट्ट लघुवित्त संस्थाले नेपालको गरीबी निवारण र आर्थिक गतिविधि बढाउन योगदान गरेको बताउँछन् । उनले पछिल्लो समय काठमाडौं केन्द्रित हुन थालेकाले अब लघुवित्त संस्थाहरु प्रादेशिक संरचनामा संचालित हुनुपर्ने बताए ।
नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले लघुवित्त संस्थाहरुले छोराको बिहे गर्नलाई ऋण दिन नहुने बताएकी छिन् । केही लघुवित्तले छोराको विवाहको लागि समेत ऋण दिएको बताउँदै उनले अब उत्पादनमुलक क्षेत्रमा कर्जा प्रवाह गर्न पर्ने बताइन् । ‘लघुवित्तले छोराको बिहे गर्न ऋण दिने होइन, कर्जा प्रवाह गर्दा लघुवित्त आफै सजग हुनुपर्छ, लघुवित्तले सेयरधनीको हितको लागि मात्रै होइन, सेवामुखि हुनुपर्छ, लघुवित्त घाटामा गएका छन भन्छन तर उच्च लाभांश कसरी बाँडिहेका छन् त ?,’ उनले भनिन् । डेपुटी गभर्नर ढुंगानाले लघुवित्तहरुले मर्जरमा जोड दिनुपर्ने धारण राखेकी छिन् । उनले बाध्यात्मक मर्जरभन्दा पनि आफ्नो स्थिति हेरेर लघुवित्तहरु मर्जरमा जानुपर्न धारणा राखिन् ।
अर्थ चाैतारी ।