काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाइछिपाइ बाह्य मुलुकतर्फ लैजान लागिएका मुद्रासहित एकजना फिलिपिन्सका नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा फिलिपिन्सका नागरिक ३२ वर्षीय आर्सिनो जेआर मेसा रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए। उनका अनुसार निजको साथबाट प्रहरीले एक सय दरका ३१ थान, २० दरका पाँच थान गरी जम्मा तीन हजार दुई सय अमेरिकी डलर र एक हजार दरका तीन सय थान, पाँच सय दरका एक हजार एक सय थान गरी रु आठ लाख ५० हजार नेपालीसहित उनलाई बिहीबार पक्राउ गरिएको हो।
फ्लाई दुबईको उडानबाट काठमाण्डौबाट दुबई जान लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्यान्ड ब्यागेज चेकिङ एरियामा प्रहरीले जाँच गर्ने क्रममा उक्त मुद्रासहित फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। निजलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले बताए।
अर्थ चाैतारी ।