logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • सोनापुर मिनरल्सको आईपीओ बाँडफाँट, १० लाख ३२ले पाए १० कित्ता

    सोनापुर मिनरल्सको आईपीओ बाँडफाँट, १० लाख ३२ले पाए १० कित्ता

    533
    SHARES
    सोनापुर मिनरल्सको आईपीओ बाँडफाँट, १० लाख ३२ले पाए १० कित्ता

    काठमाण्डौ । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आईपीओ आज बुधबार (असोज २४ गते) बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक एनआईबिएम एस क्यापिटलले सोनापुर मिनरल्सको आईपीओ बाँडफाँट गरेको हो। आईपीओ बाँडफाँट कार्यक्रम काठमाण्डौको लाजिम्पाटस्थित क्यापिटलको कार्यालयमा बिहान ९ बजे राखिएको थियो।



    बाँडफाँडको नतिजा हेर्दा सोनापुर मिनिरल्सले कर्मचारीलाई छुट्याएको पौने ६ लाख बढी कित्ता सेयर बिक्री नभएको पाइएको छ। यसरी कर्मचारीले नकिने सेयर पनि सर्वसाधारणलाई नै वितरण गरिएको छ। कम्पनीले गत असोज १४ गतेदेखि असोज १७ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थपेर कुल २३७.५८ रुपैयाँ प्रतिकित्ताको दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निष्कासन गरेको थियो।

    यो आईपीओमा कुल ११ लाख ४६ हजार ६६१ आवेदकबाट कुल १ करोड ५१ लाख ५९ हजार ९२० कित्ता सेयर माग भएको थियो। जसमा १० लाख ४६ हजार ४५९ आवेदकबाट परेको १ करोड २० लाख ६९ हजार ८९० कित्तामात्रै प्रमाणीकरण भएको क्यापिटलले जनाएको छ। प्रमाणीकरण भएकामध्ये १० लाख ४० हजार ७७० आवेदकबाट परेको १ करोड १९ लाख ७५ हजार ५२० कित्ता सेयर सदर भएको छ भने ५ हजार ६८९ आवेदकबाट परेको ९४ हजार ३७० कित्ता रद्द तथा बदर भएका छन्।

    मागभन्दा बढी आवेदक परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा १० लाख ३२ हजार १३२ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। तिनै भाग्यमानी आवेदकमध्ये ८ जनाले थप १–१ कित्ता सेयर पाएका छन्। जसअनुसार सदर आवेदकमध्ये ८ हजार ६३८ को हात खाली भएको छ।

    यसअघि गोलाप्रथाबाट यो आईपीओमा ९ लाख ७३ हजार २५४ सर्वसाधारण आवेदकले १० कित्ताका दरले पाउने सम्भावना थियो। तर, कम्पनीका कर्मचारीले नै खरिद नगरेको ५ लाख ८८ हजार ७८४ कित्ता सेयर पनि सर्वसाधारणलाई बाँडफाँड गरिएको छ। जसअनुसार थप ५८ हजार ८७८ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।

    यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक र आईपीओ निष्कासनकर्ता कम्पनीको वेबसाइट र सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।


    अर्थ चाैतारी
  • बुधबार, २४ असोज २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट