logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • सर्वोत्तम सिमेण्टको आईपीओ सेबोनबाट स्वीकृत

    सर्वोत्तम सिमेण्टको आईपीओ सेबोनबाट स्वीकृत

    1.3K
    SHARES
    सर्वोत्तम सिमेण्टको आईपीओ सेबोनबाट स्वीकृत

    काठमाण्डाै । नेपाल धितोपत्र बोर्डले सर्वोत्तम सिमेण्टलाई बुक बिल्डिङ विधीबाट प्राथमिक सेयर निष्काशन (आईपीओ) गर्ने अन्तिम स्वीकृति दिएको छ । सोमबार बसेको बोर्डको संचालक समितिको बैठकले कम्पनीलाई आईपिओ निस्काशन गर्ने अनुमति दिएको हो ।



     

    २०७९ वैशाखमै कम्पनीले बुक बिल्डिङबाट सेयर जारी गर्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से)सँग सम्झौता गरेको थियो । उक्त सम्झौतापछि सेयरको मूल्य निर्धाण गर्ने प्रक्रिया अघि बढेको हो । कम्पनीले सर्वसाधारणलाई २५ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो ।कम्पनीले निस्काशन गर्ने ६० लाख कित्ता आईपीओमध्ये संस्थागत लगानीकर्ता (डिलरहरुसमेत)लाई २४ लाख कित्ता, स्थानीय जिल्ला बासीलाई ८ लाख कित्ता, कम्पनीका कर्मचारीलाई ३ लाख कित्ता र सर्वसाधारणलाई २५ लाख कित्ता छुट्याइएको छ ।

     

    कुनै पनि सेयरको किताबी मूल्य निर्धारण गर्ने आधुनिक प्रणालीलाई ‘बुक बिल्डिङ’ भनिएको हो । सञ्चित कोषमा ठुलो रकम भएका कम्पनीले प्रिमियम मूल्यमा सेयर जारी गर्ने परिपाटीलाई बुकबिल्डिङ भनिन्छ । यस पद्धतिबाट नेपालमा पहिलो पटक आईपीओ आउन लागेको हो । धितोपत्र बोर्डका अनुसार सवोत्तमको आईपीओ अव सर्वसाधारणले प्रतिकित्ता ४०१ रुपैयाँमा किन्न पाउने छन् । यसअघि आईपीओ ल्याउने बेला १ कित्ता सेयरको ५०१ रुपैयाँभन्दा धेरै मूल्य आउने भनिएको थियो । त्यसबेला कम्पनीको नाफा पनि बढेको र सेयर बजार पनि उचाइमा रहेको थियो ।

     

    तर अहिले बजार ओरालो लागेका बेला त्यस्तै अरु कम्पनीको सेयर मूल्य ४०० हाराहारी झरेपछि कम्पनीले प्राथमिक सेयर पनि त्यही स्तरको मूल्यमा बेच्न लागेको हो । अर्कातिर धितोपत्र बोर्डले आईपीओ जारी गर्दा प्रिमियम मूल्य निर्धारण गर्ने प्रणालीलाई व्यवस्थित गर्नभन्दै नेपाल चार्टर्ड एकाउण्टेण्ट संस्थाका उपाध्यक्षको संयोजकत्वमा गठित पुनः मूल्यांकन समितिले पनि यसको मूल्य घटाएको छ ।

     

    यसअघि महँगो मूल्यमा आईपीओ जारी गर्न लागेकै बेला धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष भीष्मराज ढुंगाना यही सर्वोत्तम सिमेण्टकै भित्रि कारोबारमा परेर बरखास्त भए । त्यसपनि यो आईपीओमात्र होइन, बुक बिल्डिङ पद्धतिको प्रयोग नै स्थगित भएको थियो । अहिले पुनः निवेदन दिएर कम्पनीले ५५० रुपैयाँका दरले सेयर बेच्ने प्रस्ताव गरेको थियो । तर सेबोनले पुनः मूल्यांकन गरेर केही समय अघि प्रतिकित्ता ४५१ रुपैयाँमा झारेको थियो । अहिलेसम्म आउँदा कम्पनीको सञ्चित कोष थप क्षय भएको र बजारको मनोविज्ञान पनि कमजोर रहेको भन्दै धितोपत्र बोर्डले ४०१ रुपैयाँमा सेयर बेच्ने गरी अनुमति दिएको छ ।

     

    कम्पनीले आईपीओ ल्याउने भनेर २०७७ चैतमै ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक र प्रभू क्यापिटल तथा एनआईबीएल एस क्यापिटललाई सहायक विक्री प्रबन्धक नियुक्त गरिसकेको छ । सर्वोत्तम सिमेण्ट बर्मेली नेपाली विष्णु न्यौपानेको कम्पनी हो । न्यौपानेले नेपालमा सौरभ ग्रुपका नामले व्यवसाय सञ्चालन गरिरहेका छन् ।यो आईपीओ आएसँगै नेपाली सेयर बजारमा ‘बुक बिल्डिङ’ प्रणाली कार्यान्वयनमा आउने छ । यसपछि पवन गोल्यान र शशिकान्त अग्रवालको कम्पनी रिलायन्स स्पिनिङ मिल पनि बुक बिल्डिङबाटै नयाँ आईपीओ जारी गर्ने प्रतिक्षामा रहने छन् ।


    अर्थ चाैतारी
  • मंगलबार, ७ कात्तिक २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट