काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर कडा निर्देशन दिएको छ। एजेन्डाबारे केही नभनी केन्द्रीय बैंकले २७ वटै बैंकका सीईओहरुलाई सोमबार राष्ट्र बैंकमा बोलाएको थियो।
सो क्रममा राष्ट्र बैंकका दुई विभाग प्रमुखसहितका अन्य अधिकारीले केन्द्रीय बैंकले अघि सारेको सीडी रेसियो ९० प्रतिशत नै कायम गर्न र अनावश्यक वस्तुहरुको आयात प्रक्रिया ९एलसी०मा कडाइ गर्न भनेको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए। छलफलमा सुपरिवेक्षण विभाग र अनुसन्धान विभागका प्रमुखसहित अन्य अधिकारीहरु सहभागी थिए।
चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सीडी रेसियो ९० प्रतिशत हुने व्यवस्था गरेको थियो। त्रैमासिक मौद्रिक समीक्षामार्फत असारसम्ममा उक्त दर कायम गर्नुपर्ने गरी बैंकहरुलाई समय दिइएको थियो। तर आजको छलफलमा सकेसम्म अहिले नै ९० प्रतिशत कायम गर्न सीईओहरुलाई भनेको छ। अहिले बैंकहरुको सीडी रेसियो झण्डै शतप्रतिशतसम्म पुगेको छ।
त्यस्तै राष्ट्र बैंकले अनावश्यक वस्तुहरुको आयात प्रक्रियामा पनि राष्ट्र बैंकको नीतिलाई सघाउन सीईओहरुलाई निर्देशन दिएको छ। खासगरी विदेशी मुद्रा सञ्चितिको दबाब बढिरहँदा सीईओहरुलाई बोलाएर केन्द्रीय बैंकले एलसी प्रक्रिया लगायतमा विशेष ध्यान दिन भनेको हो। अनावश्यक वस्तुहरुको आयातलाई निरुत्साहन गर्ने गरी ध्यान दिन भनिएको हो।
अर्थ चाैतारी ।