logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि समितिमा छलफल सुरु

    शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि समितिमा छलफल सुरु

    1.2K
    SHARES
    शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि समितिमा छलफल सुरु

    काठमाण्डौ । ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ माथि प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल सुरु भएको छ । राष्ट्रियसभाबाट उत्पत्ति भइ पारित भएर प्रतिनिधि सभामा पेस भएको विधेयक शिक्षा समितिमा पठाइएको थियो । समितिले विधेयकमाथि छलफल अगाडि बढाएको हो ।



    शुक्रबार विधेयकमा सैद्धान्तिक विषयमा छलफल भएको थियो । छलफलका क्रममा समिति सदस्यहरूले विधेयकलाई जतिसक्दो चाँडो टुङ्ग्याउनुपर्ने धारणा राखेका थिए । शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा पछि परेको सुदूरपश्चिम प्रदेशमा मेडिकल विश्वविद्यालय खोलिनु एकदमै राम्रो भएको उनीहरूको प्रतिक्रिया थियो ।

    सैद्धान्तिक छलफलमा सहभागी हुँदै समिति सदस्य दीपा शर्माले केन्द्रीकृत शासन तोडेर चिकित्सा शिक्षाको सुरूवात सुदूरपश्चिमबाट भएको बताइन् । देशको पहिलो मेडिकल विश्वविद्यालय बनाउन लागिरहेको बताउँदै उनले त्यसका लागि सबैले गम्भीर र सजग भएर लाग्नुपर्ने बताइन् ।

    पर्याप्त चिकित्सकहरु तथा जनशक्ति उत्पादन गर्न उक्त विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सांसद शर्माको भनाइ छ । पर्याप्त मात्रामा नेपाली विद्यार्थीलाई पढ्न पाउने अवसर सिर्जना गर्नुका साथै विदेशी विद्यार्थीहरूलाई समेत मेडिकल शिक्षा अध्ययनका लागि यसले बाटो खुल्ने उनले बताइन् ।

    उक्त विश्वविद्यालयका लागि सानाठुला गरी ५१ वटा भवन बनेका छन् । त्यसका लागि २०६८÷०६९ सालदेखि नै बजेटको व्यवस्था गर्न थालिएको थियो । भवन बनेको लामो समय बितिसक्दा समेत विश्वविद्यालय बन्न सकिरहेको छैन । गतवर्ष सुदूरपश्चिममा नागरिकस्तरबाट व्यापक आन्दोलन भएको थियो । चर्को आन्दोलनपछि सरकारले मेडिकल विश्वविद्यालय बनाउने निर्णय गरेको थियो ।

    समितिका अर्का सदस्य ज्ञानु बस्नेत सुवेदीले नेपाल बाहिरका विद्यार्थीलाई समेत ल्याउन सकिनेगरी ऐन बनाउनुपर्ने बताइन् । हाल उपचारका लागि सुदूरपश्चिमका जनता भारत जाने गरेको स्मरण गराउँदै मेडिकल विश्वविद्यालय बनेपछि भारतीयहरू पढ्न र उपचार गराउन नेपाल आउने सुवेदीको भनाइ छ ।

    अर्का सदस्य कालुराम राईले सुदूरपश्चिम क्षेत्रमा अत्यन्तै रूढीवादी परम्परा रहेको बताउँदै त्यसका लागि वैज्ञानिक शिक्षाको आवश्यकता औँल्याए । उक्त विश्वविद्यालयले रूढीवादी परम्परालाई समेत चिर्दै लैजाने उनको विश्वास छ ।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विधेयकलाई अझै कसरी परिस्कृत गर्न सकिन्छ भन्ने विषयमा सरकार छलफल गर्न तयार रहेको बताइन् । चिकित्सा शिक्षा आयोगले आजसम्म निर्माण गरेका आधारहरूलाई समेत नबाझिनेगरी ऐनमा उल्लेख गर्नुपर्ने उनको भनाइ छ ।

    शिक्षा समितिले उक्त विश्वविद्यालयका लागि बनेका भौतिक संरचनाहरूको स्थलगत अनुगमन समेत गर्नेछ । विद्यालय शिक्षा विधेयकमाथि प्रदेशगत तहमा छलफलका लागि समिति टोली आगामी पुस ८ गते धनगढी जाँदैछ । त्यही क्रममा विश्वविद्यालयका भौतिक संरचनाहरूको समेत अनुगमन गरिने समिति सभापति अम्मरबहादुर थापाले जानकारी दिए ।

    तत्कालीन शिक्षामन्त्री अशोक कुमार राईले यो विधेयक राष्ट्रिय सभामा पेस गरेका थिए । २०८० माघ २९ गते बसेको राष्ट्रिय सभा बैठकले उक्त विधेयक सर्वसम्मतले पारित गरेको थियो ।

    स्वास्थ्यका जनशक्ति स्वदेशमै उत्पादन गरी स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्ने उद्देश्यले विधेयक ल्याइएको हो । विधेयकमा नेपाल सरकारले चिकित्सा शिक्षा अध्ययन अध्यापन गराउनको लागि चिकित्सा शिक्षा विश्वविद्यालय स्थापना र सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ । कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेजको संरचनामा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्नेगरी तयारी गरिएको हो ।


    अर्थ चाैतारी
  • शनिबार, ६ पुस २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट