काठमाण्डौ । देशभरका सबै प्रहरी कार्यालयहरूमा वैदेशिक रोजगार फोकल पर्सन तोकिदिन वैदेशिक रोजगार विभागले पत्राचार गरेको छ । विभागले प्रहरीलाई पत्राचार गरेर वैदेशिक रोजगार सम्बन्धी आउने सम्पूर्ण समस्यामा सहजीकरण गर्नका लागि फोकल पर्सन तोकिदिन अनुरोध गरेको हो ।
विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले सबै प्रहरी कार्यालयहरूमा वैदेशिक रोजगार हेर्ने गरी फोकल पर्सन तोकिदिन अनुरोध गरिएको बताए ।सुशासन प्राप्त गर्नका लागि श्रमाधान हेलो सरकार, सम्पत्ति शुद्धीकरण, साइबर ब्युरो लगायतका निकायमा वैदेशिक रोजगार हेर्ने फोकल पर्सन तोकिएको उनको भनाइ छ ।
प्रहरीका ७७ वटै जिल्लाका कार्यालयमा समेत फोकल पर्सन तोकिदिन अनुरोध गरिएको बताए । व्यक्तिगत ठगी लगायतका घटनामा पीडितलाई चाँडो न्याय प्रदान गर्नका लागि प्रत्येक जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त दिने व्यवस्था गर्न लागिएको समेत बताए । त्यसका लागि केही नेपाल ऐन संशोधनको लागि पेस गरिएको उनको भनाइ छ ।
त्यस्तै जिल्ला अदालतमा अभियोजन गर्ने व्यवस्था मिलाउनका लागि समेत विभागले केही नेपाल ऐन संशोधनका लागि पेस गरिएको बताए । हाल वैदेशिक रोजगार सम्बन्धीका उजुरीहरू वैदेशिक रोजगार विभागमा पेस गर्नुपर्ने प्रावधान छ । केही उजुरी प्रहरीमा र केही उजुरी प्रमुख जिल्ला अधिकारी समक्ष समेत पेस गर्ने व्यवस्था गरिएको छ । तर, मुद्दाको हकमा वैदेशिक रोजगार न्यायाधिकरणले हेर्ने व्यवस्था छ । त्यसका लागि जिल्ला अदालतमा समेत अभियोजना गर्न पाउने व्यवस्था मिलाउन लागिएको बताए ।
अर्थ चाैतारी ।