logo

२०८३ असार १६, मंगलबार

logo
  • २०८३ असार १६, मंगलबार
  • आर्थिक अवस्था सुधारका लागि उचित कदम चाल्न परिसंघद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

    आर्थिक अवस्था सुधारका लागि उचित कदम चाल्न परिसंघद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

    1.6K
    SHARES
    आर्थिक अवस्था सुधारका लागि उचित कदम चाल्न परिसंघद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

    काठमाण्डौ । नेपाल उद्योग परिसंघ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच मुलुकको आर्थिक अवस्था, बजेट कार्यान्वयन, मौद्रिक नीति, नवप्रवर्तन उद्यम प्रोत्साहनलगायतका विषयमा गहन छलफल भएको छ।



    नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेको हो। परिसंघले मुलुकको पछिल्लो आर्थिक अवस्था सुधार्न चालिनुपर्ने कदम र बजेटको सफल कार्यान्वयनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ।

    यस्तै लगानीयोग्य रकमको अभाव र समाधानका लागि आगामी मौद्रिक नीतिमार्फत सम्बोधन गर्न चालिनुपर्ने विषय, विदेशी विनिमय सञ्चिती, लगानी प्रवर्द्धन गर्न तत्काल एवं दीर्घकालीन रुपमा लिइनुपर्ने नीतिका विषयमा पनि प्रधानमन्त्रीसँग छलफल भएको छ। यसैगरी विश्वव्यापी रुपमा देखिएको इन्धन संकट र त्यसले देशको अर्थतन्त्रमा पारेको असरका विषयमा पनि छलफल भएको थियो।

    परिसंघका अध्यक्ष अग्रवालले मुलुकको आर्थिक अवस्थाको विषयमा जानकारी गराउँदै बैंक तथा वित्तीय क्षेत्रमा भएको तरलता अभाव सुधार्न चालिनुपर्ने कदमका विषयमा जानकारी गराए। तरलता अभावका कारण नयाँ उद्योग, लगानी विस्तार हुन नसकिरहेको अवस्था एवं तरलता समस्या समाधानका लागि आगामी मौद्रिक नीतिमार्फत सम्बोधन गरिनुपर्ने विषयमा उनले सुझाव दिए।

    अध्यक्ष अग्रवालले परिसंघका गतिविधि, आगामी भदौ २३ र २४ गते हुने पूर्वाधार सम्मेलनलगायतका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराए। परिसंघले मुलुकको समग्र आर्थिक विकासका लागि सरकारले लिएका आर्थिकसम्बन्धी नीति, कार्यक्रममा सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। परिसंघको युवा उद्यमी मञ्चले हालै सम्पन्न गरेको सीएनआईवाईइएफ नेपाल स्टार्टअप फेस्टको विषयमा पनि जानकारी गराउनुहुँदै युवाहरुमा उद्यमी बन्ने चासो निकै बढेको अग्रवालले बताए। उक्त फेस्टमा ५ हजार युवाहरुको सहभागिता रहेको र ७ वटा उत्कृष्ट स्टार्टअप्सका लागि २४ करोड ५० रुपैयाँ लगानी प्रतिबद्धता भएको उनले जानकारी गराए।

    युवा उद्यमीहरुलाई प्रोत्साहन गर्न परिसंघले आग्रह गरेको छ। छलफलमा प्रधानमन्त्री देउवाले परिसंघले उठाएका विषयलाई गम्भीर रुपमा लिँदै सकारात्मक सम्बोधन गर्ने आश्वासन दिए। छलफलमा परिसंघका पुर्व अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु कृष्णप्रसाद अधिकारी, विरेन्द्रराज पाण्डे, महानिर्देशक दिपकराज जोशी, परिसंघ युवा उद्यमी मञ्चका पुर्व अध्यक्ष च्याङ अग्रवाललगायत सहभागी थिए।


    अर्थ चाैतारी
  • विहिबार, २३ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट