images
images

पाँच महिनामा वाणिज्य बैंकले कमाए २८ अर्बभन्दा धेरै नाफा, विकास बैंक र फाइनान्स कम्पनीको नाफा कति?

  • माघ ५ २०७८, बुधबार
images

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिर मसान्तसम्म)मा २७ वाणिज्य बैंकले २८ अर्ब रुपैयाँभन्दा धेरै नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले पाँच महिनामा २८ अर्ब २० करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन्।

बैंकहरुले चालु आर्थिक वर्षको चार महिनाको अवधिको तुलनामा पाँचौं महिनासम्म आउँदा नाफा १९.८७ प्रतिशतले बढाएको राष्ट्र बैंकले जानकारी दिएको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिक मसान्तसम्म समग्र वाणिज्य बैंकहरुको कूल नाफा २३ अर्ब ५२ करोड रुपैयाँ थियो। यसैगरी पाँच महिनाको अवधिसम्म आउँदा १८ विकास बैंकले दुई अर्ब ५४ करोड रुपैयाँ र फाइनान्स कम्पनीहरुले पाँच करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छन्।

कुन वाणिज्य बैंकको नाफा कति?
चालु आवको पाँच महिनासम्म आउँदा सबैभन्दा धेरै नाफा आर्जन गर्ने बैंक एनआईसी एसिया रहेको छ। एनआईसी एसियाले मंसिर मसान्तमै दुई अर्ब ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यसैगरी एक अर्बभन्दा माथि नाफा कमाउन सफल बैंकहरु १० वटा छन्। सबैभन्दा धेरै नाफा कमाउने दोस्रोमा ग्लोबल आईएमई बैंक रहेको छ। यस बैंकले यस अवधिमा एक अर्ब ९६ करोड आठ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

यस्तै नबिल बैंकले एक अर्ब ८९ करोड आठ लाख, राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब ८८ करोड, प्राइम बैंकले एक अर्ब ५० करोड, प्रभु बैंकले एक अर्ब ३७ करोड, एनएमबि बैंकले एक अर्ब ६३ करोड, सिद्धार्थ बैंकले एक अर्ब ३३ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले एक अर्ब ३३ करोड, मेगा बैंकले एक अर्ब २६ करोड, नेपाल बैंकले एक अर्ब तीन करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छन्।

यसैगरी १६ वाणिज्य बैंकले करोडभन्दा माथि नाफा आर्जन गरेका छन्। जसमा सिटिजन्स बैंकको यस अवधिसम्मको नाफा ९९ करोड ६० लाख रुपैयाँ छ। यसैगरी स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ९० करोड ३१ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको ८७ करोड ९७ लाख, कुमारी बैंकको ८६ करोड ४१ लाख, लक्ष्मी बैंकको ७८ करोड ८१ लाख रुपैयाँ नाफा रहेको तथ्यांकमा उल्लेख छ।

यसैगरी एभरेष्ट बैंकले ७५ करोड ९२ लाख, नेपाल क्रेडिट एण्ड कर्मसियल बैंकले ७५ करोड ५६ लाख, सनराइज बैंकले ७० करोड ३७ लाख, नेपाल एसबीआई बैंकले ६५ करोड ९५ लाख, कृषि विकास बैंकले ६५ करोड ६ लाख, हिमालयन बैंकले ५६ करोड १० लाख, नेपाल बंगलादेश बैंकले ५४ करोड ६६ लाख, बैंक अफ काठमाडौंले ४९ करोड ५९ लाख, सिभिल बैंकले ४१ करोड ११ लाख, सेन्चुरी बैंकले ४० करोड ५० लाख रुपैयाँ नाफा गरेको राष्ट्र बैंकले जानकारी दिएको छ।

विकास बैंकहरुको नाफा दुई अर्बभन्दा माथि
मंसिर मसान्तसम्मको अवधिमा १७ वटा विकास बैंकले दुई अर्ब ५४ करोड दुई लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। कात्तिक मसान्तसम्ममा विकास बैंकहरुले दुई अर्ब १५ करोड रुपैयाँ नाफा कमाएका थिए। एक महिनाको अन्तरालमा विकास बैंकहरुको नाफा १७।७६ प्रतिशतले बढेको हो। यस अवधिमा विकास बैंकमध्ये सर्वाधिक नाफा कमाउने मुक्तिनाथ विकास बैंक बनेको छ।

मुक्तिनाथले ४६ करोड नाफा कमाएको छ। उसले कात्तिकको तुलनामा १७।५२ प्रतिशतले नाफा बढाएको हो। सर्वाधिक नाफा गर्ने अर्को विकास बैंक गरिमा विकास बैंक हो। यस बैंकले ३४ करोड रुपैयाँ खुद नाफा कमाएको छ। ज्योति विकास बैंकले सोही अवधिमा ३३ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा महालक्ष्मी विकासले ३१ करोड ६६ लाख रुपैयाँ, कामना सेवाले ३० करोड ४२ लाख, शाइन रेसुंगाले २७ करोड ६६ लाख रुपैयाँ र लुम्बिनी विकासले २४ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएका छन्।

यस अवधिसम्म आउँदा विकास बैंकहरुमध्ये सबैभन्दा कम नाफा ग्रीन डेभलपमेन्ट बैंकको छ। ग्रीनले ८८ लाख रुपैयाँ नाफा कमाएको छ। कात्तिकको तुलनामा बैंकको नाफा भने करिब ३० प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।

मंसिर मसान्तसम्म पाँचवटा विकास बैंक घाटामा रहेका छन्। सर्वाधिक घाटामा सप्तकोशी डेभलपमेन्ट विकास बैंक छ। यो बैंक १० करोड रुपैयाँभन्दा धेरै घाटामा रहेको छ। यसैगरी नारायणी डेभलपमेन्ट बैंक ४४ लाख, साल्पा विकास बैंक १९ लाख, सिन्धु विकास बैंक नौ लाख र कर्पोरेट डेभलपमेन्ट विकास बैंक पाँच लाख रुपैयाँ नोक्सानीमा रहेका छन्।

फाइनान्स कम्पनी कसले कति कमाए?
चालु आर्थिक वर्षको पाँच महिनाको तथ्यांक अनुसार समग्र फाइनान्स कम्पनीहरुले पाँच करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। कम्पनीहरुको नाफा अघिल्लो महिनाको तुलनामा १४.०१ प्रतिशतले बढेको छ। अघिल्लो महिना फाइनान्स कम्पनीहरुले चार करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। पाँच महिनाको अवधिमा फाइनान्स कम्पनीमध्ये सर्वाधिक नाफा बेस्ट फाइनान्सले आर्जन गरेको छ। उक्त फाइनान्सले १२ करोड रुपैयाँ खुद नाफा कमाएको हो। कात्तिकको तुलनामा फाइनान्सको नाफा ०.१६ प्रतिशतले बढेको छ।

यसैगरी यस अवधिमा धेरै नाफा कमाउने अर्को फाइनान्स कम्पनी गुडविल र आईसीएफसी फाइनान्स कम्पनी रहेका छन्। यी दुवै फाइनान्सले सात करोड ७० लाख रुपैयाँ नाफा कमाएका छन्। त्यस्तै, मञ्जुश्री फाइनान्सले पाँच करोड ३७ लाख खुद नाफा आर्जन गर्दा जानकी फाइनान्सले चार करोड ६२ लाख र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले चार करोड ४४ लाख रुपैयाँ खुद मुनाफा कमाएका छन्। समीक्षा अवधिमा यी छ वित्त कम्पनीहरुको खुद नाफा औसतभन्दा माथि रहेको छ।

प्रोगेसिभ फाइनान्सले यस अवधिमा सबैभन्दा कम नाफा कमाएको छ। प्रोगेसिभले छ लाख रुपैयाँ नाफा गरेको छ, जुन अघिल्लो महिनाको तुलनामा झन्डै १०० प्रतिशतको गिरावट हो। समीक्षा अवधिमा दुई वित्त संस्थाहरु पनि घाटामा रहेको तथ्यांकले देखाएको छ। क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीले ३५ लाख रुपैयाँ नोक्सानी बेहोर्दा समृद्धि फाइनान्स १५ लाख रुपैयाँ घाटामा छ।

images