काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार पनि सेयर बजार ओरालो लागेको छ। आज बजार १६.६९ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २६१३.६७ को विन्दुमा झरेको छ।
राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.१७ अंकले घटेर ४८८.९४ को विन्दुमा ओर्लेको छ। कारोबार रकम भने हिजोको तुलनामा बढेर सवा ३ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटामा हरियाली छाएको छ भने ११ वटामा रातो पोतिएको छ। यो दिन जीवन बीमा समूह २.५४ प्रतिशतले उकालो लाग्दा निर्जीवन बीमा समूहमा १.०५ प्रतिशतको बढोत्तरी भएको छ।
आज वित्त र विकास बैंक दुवै समूह सर्वाधिक १.९८ प्रतिशतले ओरालो लागेका छन्। लगानी समूह १.९४ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.८२ प्रतिशत, व्यापार समूहमा ०।८३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.३८ प्रतिशत, जलविद्युत समूहमा १.०२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.३४ प्रतिशत, अन्य समूहमा १.४१ प्रतिशत, लघुवित्त समूहमा ०.४ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.५५ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२४ कम्पनीका ५२ लाख ९८ हजार ५४३ कित्ता सेयर ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार ८२५ रुपैयाँमा कारोबार भएका छन्। यो दिन जीवन विकास लघुवित्तको सर्वाधिक ३० करोड ६३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल टेलिकमको २३ करोड ५० लाख रुपैयाँबराबरको कारोबार भएको आज लाइफ इन्स्योरेन्स कर्पोरेसनको ११ करोड ३१ लाख रुपैयाँ, अपी पावरको १० करोड ३३ लाख रुपैयाँ, गुराँस लाइफ इन्स्योरेन्सको ८ करोड ३७ लाख रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सको ८ करोड १३ लाख रुपैयाँ, शिवम सिमेन्टको ६ करोड ५४ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ६ करोड ४१ लाख रुपैयाँ, छिमेक लघुवित्तको संस्थापक सेयरको ५ करोड ७७ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको ५ करोड ४६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ३ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। राष्ट्र उत्थान लघुवित्तको १० प्रतिशत तथा इमर्जिङ नेपाल र युनाइटेड इदी मर्दीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको हो। यो दिन नेपाल फाइनान्स र सामलिङ पावरका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउ ५ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times