काठमाण्डौ । हिमालयन हाइड्रो एक्स्पोको तेस्रो संस्करण आगामी १९ चैत ९शनिबार०देखि काठमाडौंमा हुने भएको छ। स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल (इप्पान) को आयोजनामा हुने एक्स्पो तीन दिनसम्म चल्नेछ। एक्स्पोबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा इप्पान अध्यक्ष कृष्णप्रसाद आचार्यले एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने जानकारी दिए।
एक्स्पोको पूर्वसन्ध्यामा शनिबार बिहान विद्युतीय सवारीसाधनको र्यालीसमेत आयोजना गरिने भएको छ। भृकुटीमण्डपबाट सुरु हुने र्याली नेपालकै पहिलो जलविद्युत् आयोजना काभ्रेको फर्पिङसम्म पुगेर पुनः भृकुटीमण्डपमै आएर समापन हुनेछ। फर्पिङ जलविद्युत् आयोजनामा पर्यटनमन्त्री प्रेम आलेले सहभागीहरूलाई स्वागत गर्नेछन्।
५० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको प्रदर्शनी नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपतमा वृद्धि गर्न र विदेशमा निर्यातको वातावरण बनाउने तथा हाइड्रो क्षेत्रले विकास गरेका संसारभरका नयाँ प्रविधिबारे सम्बद्ध पक्षलाई ज्ञान तथा सूचना सम्प्रेषण गर्ने अवसर हुने आचार्यले बताए। ‘एक्स्पो अवधिभर प्रत्येक दिन हाइड्रोपावरसम्बन्धी विषयगत ६ वटाभन्दा बढी टेक्निकल सेसन सञ्चालन तथा अन्तर्क्रिया तय गरेका छौं,’ आचार्यले भने।
एक्स्पोमा हाइड्रोपावर निर्माता, हाइड्रोपावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सल्ट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता, बैंक र वित्त कम्पनीले सयभन्दा बढी स्टल बुकिङ गरेका छन्। प्रदर्शनीमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्विडेन, बेलायत, ब्राजिललगायत देशका कम्पनी तथा सरोकारवालाहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
प्रदर्शनीमा नयाँ प्रविधिका साथै हाइड्रोपावरमा रोबोटर्सको भूमिकाबारे जानकारी गराइनेछ भने विश्वकै पहिलो हाइड्रोपावर रोबोटिक कम्पिटिसन हाइड्रोकन २० मा हाइड्रोपावरमा काम लाग्ने रोबोटहरूका साथै टनेल चेकिङ र इन्स्पेक्सनजस्ता काममा समेत सहायता प्रदान गर्ने रोबोटहरूको प्रतिस्पर्धा एक्स्पोमा हुनेछ।
अर्थ चाैतारी ।