logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • भारतीय व्यवसायीलाई प्रधानमन्त्रीले भने, ‘नेपालमा लगानीको वातावरण सहज बनाउन तयार छु’

    भारतीय व्यवसायीलाई प्रधानमन्त्रीले भने, ‘नेपालमा लगानीको वातावरण सहज बनाउन तयार छु’

    6.8K
    SHARES
    भारतीय व्यवसायीलाई प्रधानमन्त्रीले भने, ‘नेपालमा लगानीको वातावरण सहज बनाउन तयार छु’

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानीको वातावरण सहज बनाउन आफू सधैँ तयार रहेको बताएका छन् । भारत भ्रमणका क्रममा आज भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा देउवाले कुनै पनि मुलुक सरकार र निजी क्षेत्रको सहकार्य सहकार्यविना समृद्ध नहुने बताउँदै त्यसका लागि वातावरण बनाउने जिकिर गरेका हुन् ।



    कन्फिडरेसन अफ इन्डियन इन्डिष्ट्रिज (सिआईआई) ले आयोजना गरेको उक्त कार्यक्रममा प्रधानमन्त्री देउवाले सरकारले सबै आवश्यक नीतिगत सहजता प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । सिआईआई भारतमा महासंघको साझेदार संस्था हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भ्रमणका क्रममा भएको सम्झौताले विद्युत् आदान प्रदान र रेल सेवा सञ्चालनमा सहयोग पुग्ने उनले बताए ।

    कार्यक्रममा नेपालमा भारतीय लगानी बढाउन र भारततर्फको निर्यात सहजीकरणका लागि सरकार र निजी क्षेत्र दुवैले भारतसँग आग्रह गरेका छन् । कार्यक्रममा महासङ्घ अध्यक्ष शेखर गोल्छाले जलविद्युत, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधि लगायतका सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताए । उनले पर्यटन क्षेत्रमा सम्भावना बढ्दै गएको पनि बताए । अबको दुई वर्षमा अहिलेको पर्यटन पूर्वाधारले नपुग्ने र सरकारी नीतिका कारण यस क्षेत्रमा लगानी सहज भएको पनि बताए । नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीहरूले राम्रो मुनाफा आर्जन गरिरहेको पनि उनले जानकारी गराए ।

    कार्यक्रममा सिआईआईका अध्यक्ष टीभी नरेन्द्रनले नेपाल भारतीय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको र नेपालमा लगानी बढाउन सहजीकरण गर्ने बताए । सिआईआईको उर्जा संयन्त्र नेपालमा लगानी बढाउन सहकार्य गर्ने पनि उनको भनाइ थियो । कृषिजन्य वस्तुको निर्यातमा गुणस्तरीय कायम गर्न पनि भारतले सहयोग गर्न सक्ने उनले बताए । कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष भवानी राणाले नेपाल भारतबीचको संयुक्त व्यावसायिक फोरमको बारेमा जानकारी गराएकी थिइन् । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानीका लागि भइरहेको प्रयासबारे जानकारी गराए ।

    कार्यक्रममा करिब ३० वटा भारतीय बहुराष्ट्रिय कम्पनीको सहभागिता थियो । करिब १५ कम्पनीका प्रमुख कार्यकारी अधिकृतले नेपालमा लगानीको सम्भावना बारे चासो र अनुभव आदान प्रदान गरेका थिए । यसअघि, महासङ्घ र सिआईआईका पदाधिकारीहरू बीच द्विपक्षीय छलफल भएको थियो । जसमा दुई संस्थाबीचको सहकार्य विस्तार, संयुक्त परियोजनाको कार्यान्वयन, नेपाल भारत लगानी एवं व्यापार सहजीकरणका विषयमा छलफल भएको थियो ।


    अर्थ चाैतारी
  • शनिबार, १९ चैत्र २०७८
  • सम्बन्धित समाचार