काठमाण्डौं । सहकारी मार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले युथ फोरम आयोजना हुने भएको छ । राष्ट्रिय सहकारी महासंघको आयोजनामा यहीँ चैत २५ र २६ गते राजधानीमा ‘को–अपरेटिभ एन्टरप्रेनरशिप नेशनल युथ फोरम, २०२२’ आयोजना हुने भएको हो ।
उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । फोरममा देशभरका दुई सय पचास सहकारीका सञ्चालक, युवा उद्यमीहरु र प्रतिनिधिहरुको सहभागिता रहने महासंघका सञ्चालक तथा युवा फोरमका संयोजक सागर ढकालले जानकारी दिए ।
फोरममा युवा र उद्यमशीलता सम्बन्धी विभिन्न चार विषयमा छलफल तथा प्रस्तुती हुनेछ । कार्यक्रममा मोटिभेर वक्ताको रुपमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघका गोविन्द घिमिरे, अष्ट्रेलियाका पूर्व राजदुत महेश दाहाल, युवा तथा साना व्यवसायी स्वरोजगार कोषका उपाध्यक्ष देवराज रोका लगायत रहनेछन् । यी वक्ताहरुले नेपालमा युवा र उद्यशीलता विषयमा कार्यपत्र प्रस्तुत गर्ने संयोजक ढकालले जानकारी दिए । सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्न सहयोग गर्नु गोष्ठीको प्रमुख उद्देश्य रहेको ढकालको भनाइ छ ।
‘युवाहरुलाई उद्यमशील बनाउने, मुलुकको आर्थिक विकास र समृद्धिमा सहभागीता र योगदान बढाउन फोरमले भूमिका खेल्ने अपेक्षा हामीले गरेका छौैं’, संयोजक ढकालले भने । फोरमले सहकारीको नीति निर्माणमा युवा सहभागिताको लागी दबाब सिर्जना गर्न र सहकारीमा नविन सोच, प्रविधिको विस्तार साथै युवा मैत्री वातावरण निर्माणमा समेत थप सहयोग पु¥याउने अपेक्षा गरिएको उनले बताए ।
अर्थ चाैतारी ।