काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले आव २०७८/७९ को चौथो त्रैमाससम्म कुल १ खर्ब १ अर्ब ४० करोड १९ लाख ९३ हजार २६६ रुपैयाँ निक्षेप संकलन गरेको छ।
२०७९ असार मसान्तसम्ममा बैंकले कुल ९१ अर्ब ४६ करोड कर्जा लगानी गरेको छ। यो रकम एक आर्थिक वर्षअघिको तुलनामा १३ अर्ब ३७ करोड रुपैयाँले बढी हो। समीक्षा वर्षमा बैंकको कर्जा विस्तार करिब १७ प्रतिशतले भएको छ। बैंकिङ क्षेत्रमा नै तरलताको संकटको वर्ष पनि बैंकले ७ अर्ब ९१ करोड अर्थात करिब साढे ८ प्रतिशतले निक्षेप वृद्धि गरेको छ।
यसका साथै बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८७.९८ प्रतिशत कायम भएको छ भने तरलता अनुपात (एलडी रेसियो) २५.०६ प्रतिशत कायम भएको छ। बैंकको खुद तरल सम्पत्ति (एनएलए) २५ प्रतिशतभन्दा बढी छ।
देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यका साथ बैंकले देशका विभिन्न स्थानमा शाखा, शाखारहित बैंकिङ तथा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकको कुल शाखा संख्या १४५ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउन्टर २४ शाखारहित बैंकिङ र ११५ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।
अर्थ चाैतारी ।