काठमाण्डौ । नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङले स्याङ्जाको पर्यटकीय सहर मिर्मिमा आजदेखि अप्टिकल फाइबरमा आधारित उच्च गतिको फाइबर टु द होम (एफटीटीएच) सेवा विस्तार सुरु गरेको छ।
कम्पनीले गल्याङमा पुरानो तामाको तारबाट सञ्चालित सबै सेवाहरु पूर्ण एफटीटीएचमय भई कपर फ्रि नेटवर्क बनेको छ। कपर फ्रि नेटवर्क हुँदा अव्यवस्थित तारहरुलाई व्यवस्थित गर्न समेत सहज हुने टेलिकमले जनाएको छ।
तामाको तारमा आधारित नेटवर्कको सट्टा अप्टिकल फाइबरमार्फत एउटै रेशाबाट ब्रोडब्याण्ड इन्टरनेट, भ्वाइस, टेलिभिजन तथा मोबाइल डेटा उपलब्ध हुने गरी सेवा उपलब्ध गराइएकोले उपभोक्तालाई सहज भएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रमुख इन्दल यादवले बताए।
गण्डकी प्रदेशका सहरी तथा ग्रामीण क्षेत्रका अधिकांश ठाँउहरुमा एफटीटीएच सेवा क्रमिक विस्तार गर्दै उपभोक्ता लक्षित सेवा उपलब्ध गराइने उनले बताए। त्यसैगरी नेपाल टेलिकम सरकारी स्वामित्वको संस्था भएकाले सहुलियत दरअनुसारकै ‘उच्च गति न्यून दर’को एफटीटीएच सेवा उपलब्ध गराइएको दूरसञ्चार कार्यालय पोखराका प्रमुख रवि मानन्धरले बताए।
यस सेवामार्पmत उपभोक्ताले आफ्नो इच्छाअनुसार इन्टरनेटको स्पिड प्राप्त गर्न सक्नेछन्। सामान्य घरमा प्रयोग हुने ८ एमबीपीएसदेखि लिएर स्कुल तथा कलेजलाई आवश्यक पर्ने ८० एमबीपीएस स्पिडसम्मको उच्च गतिको फाइबर इन्टरनेट सस्तो दरमा प्राप्त गर्न सकिने टेलिकम कार्यालय गल्याङका कार्यालय प्रमुख राम राज उपाध्यायले बताए। उनका अनुसार वार्षिक प्याकेज अनुसार यो सेवा लिने ग्राहकले पिएसटिएन टेलिफोनको न्युनतम मासिक महसुल वर्षैभरी निःशुल्क प्राप्त गर्नुको साथै अन्य छ प्रकारका सेवाहरु समेत निःशुल्क पाउने बताए।
अर्थ चाैतारी ।